लण्डन २६ मार्च २०२३ ।

भूतपूर्व गोर्खा एवम् समाजसेवी राम गलामी काउन्सिलर उम्मेदवार बनेका छन् ।
मगर संघ युकेका पूर्वउपाध्यक्ष, गुल्मी जिल्ला समाज युकेका पूर्वअध्यक्ष रहेका गलामी रेडिङ बरो काउन्सिल पार्क वार्डबाट मे ४ तारिखमा हुने निर्वाचनका लागि लेबर पार्टीबाट काउन्सिलर उम्मेदवार छनोट भएका हुन् । रेडिङ बरो काउन्सिलमा सम्भवतस् लेबर पार्टीबाट काउन्सिलर उम्मेदवार छानिने गलामी पहिलो नेपाली हुन् ।
दुई दशकदेखि बेलायत बस्दै आएका गलामी लेबर पार्टीमा विगत ४ वर्षदेखि आबद्ध छन् । नेपालीहरुको उल्लेख्य बसोबास रहेको उक्त वडामा करिब ११ हजार मतदाता छन् । उनले २०१२ देखि फोर्सेस् इम्प्लोवाइमेन्ट च्यारिटीमा आबद्ध भएर भूपू गोर्खाहरुलाई रोजगारी दिँदै आएका छन् ।
उनले आफूलाई टिकट दिलाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । गलामीले स्थानीय, नेपालीसहित सबै समुदायलाई चुनावी अभियानमा साथ दिन अपिल गरेका छन् ।






