
काठमाडौं २९ मार्च २०२३ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग गैरआवासीय नेपाली संघका प्रतिनिधिले आज भेटवार्ता गरेका छन् । संघका कार्यकारी अध्यक्ष रविना थापा र अध्यक्ष कुल आचार्यको प्रतिनिधित्वमा गएको प्रतिनिधिमण्डलले उपराष्ट्रपतिसमक्ष नागरिकताको निरन्तरता, विदेशमा रहेका नेपालीको सम्पत्तिको सुरक्षा, नेपालमा सहजै लगानीको वातावरण निर्माणलगायत विषयमा छलफल गरेको थियो ।
सो अवसरमा उपराष्ट्रपति यादवले गैरआवासीय नेपालीको लगानी विषयमा यथाशक्य छिटो समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । लगानीका लागि मार्ग प्रशस्त गर्न आफू प्रतिबद्ध रहेको र विदेशमा आर्जन गरेको पुँजी र ज्ञान नेपालको प्राविधिक तथा व्यावसायिक ज्ञान, सीप विकासको क्षेत्रमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका थिए ।
भेटमा संघका कार्यकारी अध्यक्ष थापाले संघले लामो समयदेखि नागरिकताको निरन्तरताको लागि आवाज उठाउँदै आएपनि सो विषय टुंगो नलागेको भन्दै त्यसका लागि सकारात्मक पहल गरिदिन उपराष्ट्रपति यादवको ध्यानाकर्षण गराए । त्यस्तै संघका अध्यक्ष आचार्यले सम्पत्तिको सुरक्षा सम्बन्धी कानुनलाई गैरआवासीय नेपालीमैत्री बनाउन र लगानीका लागि विद्यमान बाधा व्यवधान सुल्झाउनका लागि सकारात्मक पहल गरिदिन आग्रह गरेका थिए । अध्यक्ष आचार्यले पटक पटकको प्रयासबाट पनि नागरिकताको विषय नटुङ्गिनु दुखद् भएको भन्दै उक्त विषय सम्बोधनका लागि सबै निकायबाट पहल गर्नुपर्नेमा जोड दिए ।
संघका उपाध्यक्ष आर के शर्माले श्रमिकको योगदानलाई मुलुकले यथोचित सम्मान गर्न सक्नुपर्नेमा जोड दिँदै राज्यका सर्वोच्च निकायबाट पनि त्यसका लागि सकारात्मक रुपमा पहल हुनुपर्नेमा जोड दिए । संघका युवा संयोजक अब्दुल बासिदले गैरआवासीय नेपाली ऐनलगायत गैरआवासीय नेपालीसँग प्रत्यक्ष सरोकार राख्ने विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र त्यससम्बन्धी नियमावली तथा आदेशमा संशोधन गर्न र लगानी सम्बन्धमा विद्यमान न्युनतम मापदण्ड हटाउन सहयोग गर्न उपराष्ट्रपतिसमक्ष आग्रह गरे ।
संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले विश्वभर छरिएर बसेका गैरआवासीय नेपाली नेपाललाई छिट्टै समृद्ध बनाउने अभियानमा लागेको भन्दै उक्त अभियानमा सरकारसँगको सहकार्य र राज्यका सर्वोच्च निकायको समर्थन आवश्यक रहेको बताए ।
भेटमा आइसीसी उपाध्यक्ष दुर्गा उपाध्यक्ष, सचिव गोविन्दप्रसाद गौतम, पूर्वआइसीसी सदस्य राम बेलबासे, क्षेत्रीय संयोजक (मध्यपूर्व) मनोजकुमार श्रेष्ठ, भगिरथ योगीलगायत विभिन्न मुलुकका प्रतिनिधिहरु र संघका प्रमुख कार्यकारी अधिकृत रवीकिरण अधिकारीको उपस्थिति रहेको थियो ।






