काठमाडौं ३० मार्च २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको बताएका छन् ।
भरतपुर विमानस्थलको नयाँ ट्रमिनल भवन तथा विमानस्थल विस्तार शिलान्यास गर्दै उनले अब देशमा राजनीतिक स्थायित्व कायम हुने बताए । नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित आफू प्रधानमन्त्री पदको जिम्मेवारीमा रहेको उनको भनाइ थियो । सिङ्गो राष्ट्रलाई एकताबद्ध बनाएर विकास र समृद्धिको दिशातर्फ लैजान आफू लागिपरेको जनाउँदै उनले भने, ‘मेरो चरित्र र विशेषता भनेको सबैलाई मिलाएर लाने नै रहेको छ।’ बैसठ्ठी वर्षअघि सुरु भएको भरतपुरको विमान उडान कार्य अहिले आएर विस्तार र ट्रमिनल भवन निर्माणको कार्य सुरु हुनेले छुट्टै महत्व बोकेको उनले बताए ।
यो आयोजना सम्पन्न भएसँगै ७२ सिटे जहाजको उडान र अवतरण सुरु हुने र यसले चितवनको मात्रै नभएर राष्ट्रको अर्थतन्त्रलाई समेत टेवा पुग्ने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गरे । उनले नेपालमा पछिल्लो समय सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधानका लागि सरकार लागि परेको बताए ।
लुम्बिनी विमानस्थलका बिषयमा भारत भ्रमणका क्रममा र पोखरा विमानस्थलका विषयमा चीनसँग छलफल गर्ने उनले बताए । सरकारले निजगढ विमानस्थल निर्माणलाई महत्वका साथ अघि बढाएको उनको भनाइ छ । द्रुतमार्ग निर्माणसँगै निजगढ विमानस्थलको निर्माणको कामसमेत अघि बढाइने उनले बताए ।






