काठमाडौं ३१ मार्च २०२३ ।

प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ ।
फाइनलमा लाओसलाई २–१ गोलले हराउँदै आयोजक नेपालले उपाधि जितेको हो । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा १ गोलले पछाडि परेको अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेको हो । खेलको १७ औँ मिनेटमा लाओसका फोन्साक सिसाभाथले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको २४ अौँ मिनेटमा आयुष घलानले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याउँदा पहिलो हाफ बराबरीमा सकिएको थियो ।
निकै प्रतिस्पर्धात्मक खेलको ८७ औँ मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई २–१ ले जिताए । नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर र उपविजेता लाओसले २५ सय अमेरिकी डलर पुरस्कार पाएको छ । प्रतियोगितामा नेपाल, लाओस र भुटानको सहभागिता थियो ।






