काठमाडौं २ अप्रिल २०२३ ।

नेपालमा एक महिनामा झण्डै एक लाख विदेशी पर्यटक भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार २०२३ को मार्चमा ९९ हजार ४२६ जना पर्यटक नेपाल भित्रिएका हुन् । यो संख्या हवाई मार्ग हुँदै आएका पर्यटकको हो। स्थल मार्ग भएर आएका भारतीय तथा तेस्रो देशका पर्यटकको संख्या यसमा समावेश छैन । कोभिडको लामो असरपछि नेपाली पर्यटन लयमा फर्किने क्रममा छ । नेपालमा अब पर्वतारोहणको मौसम सुरु हुँदैछ। अप्रिलमा पर्यटक आगमन अझै बढ्ने अपेक्षा व्यवसायीले गरेका छन् ।
मार्चमा आएको पर्यटक संख्या महामारी सुरु भएयताकै सबैभन्दा धेरै हो । कोभिडअघिको मार्च २०१९ मा १ लाख २७ हजार ३५१ जना पर्यटक नेपाल आएका थिए। त्यसयता पर्यटक आगमन निरन्तर गिर्दो क्रममा थियो । सन् २०२३ को तीन महिनामा २ लाख २७ हजार ७५५ जना पर्यटक नेपाल आइसकेका छन् । जनवरीमा ५५ हजार ७४ जना र फेब्रुअरीमा ७३ हजार २५५ जना पर्यटक आएका थिए ।
मार्चमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय छन् । दोस्रो स्थानमा अमेरिकी पर्यटक छन् भने तेस्रोमा बेलायती। युरोपबाट पनि पर्यटकको आगमन सकारात्मक देखिएको छ । चिनियाँ पर्यटक पनि बढ्ने क्रममा छन् । फेब्रुअरीमा २ हजार २६६ जना चिनियाँ पर्यटक नेपाल आएकोमा मार्चमा यो संख्या २ हजार ६३५ पुगेको छ ।
मार्चमा भारतबाट २५,९११, अमेरिकाबाट ९,५५७, बेलायतबाट ६,१३३, जर्मनीबाट ४,१४९, श्रीलंकाबाट ३,८९८, थाइल्याण्डबाट ३,८२९, फ्रान्सबाट ३,००९ कोरियाबाट, २,६३९ र चीनबाट २,६३५ पर्यटक आएका छन् ।






