काठमाडौं १८ अप्रिल २०२३ ।

वैदेशिक रोजगारी र अन्य उद्देश्यका लागि नेपालबाट बाहिरिएका एक हजारभन्दा बढी नेपाली नागरिक विभिन्न देशका जेलमा रहेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले उनीहरुको उद्दारका लागि संसदमार्फत् सरकारको ध्यानाकर्षण गराए । उनले विभिन्न मुलुकमा पुगेका नेपाली कामदारलाई सहज रुपमा काम गर्ने वातावरण निर्माण र उनीहरुको सुरक्षाका लागि सरकारले पहल गर्नुपर्ने बताए ।
“हाम्रो मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुको महत्वपूर्ण योगदान छ । गतवर्ष नेपालले करिब रु १० खर्ब सात अर्ब रेमिट्यान्स भित्र्याएको छ । तर वैदेशिक रोजगारीमा गएका एक हजारभन्दा बढी नेपाली अहिले विभिन्न देशका जेलमा छन्,” सांसद कार्कीले भने, “उनीहरुको रिहाइ, उद्दार, सुरक्षा र सहज रुपमा स्वदेश फर्किन वातावरणका निमित्त सरकारको ध्यान गम्भीर रुपले आकृष्ट गर्न चाहन्छु ।”
विदेश गएका नेपाली कामदारलाई सहज वातावरणमा काम गर्ने अवस्था सिर्जनाका लागि सरकारले विशेष पहलकदमी गर्नुपर्ने उनको भनाइ छ ।






