काठमाडौं १९ अप्रिल २०२३ ।

वसुन्धरा–मान प्रज्ञा–प्रतिष्ठानले विसं २०८० को वसुन्धराश्री पुरस्कार वरिष्ठ चिकित्सक डा. सन्दुक रुइत र मानश्री पुरस्कार वरिष्ठ वैज्ञानिक डा. महावीर पुनलाई प्रदान गर्ने भएको छ।
प्रज्ञा–प्रतिष्ठानको यही वैशाख ६ गते बसेको विशेष बैठकले स्वास्थ्य शिक्षा, स्वास्थ्य चेतना र नेत्र चिकित्साको सेवाद्वारा नेपाली समाजलाई स्वस्थ, समृद्ध र समुन्नत बनाउन महत्त्वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपालीको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्ने वरिष्ठ नेत्र चिकित्सक डा रुइतलाई विसं २०८० को वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
बैठकले राष्ट्रिय आविष्कार केन्द्रको माध्यमबाट नेपालमा विज्ञान तथा प्रविधिको विकासमा महत्त्वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली जातिको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्ने वरिष्ठ वैज्ञानिक डा. महावीर पुनलाई विसं २०८० को मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
विसं २०११ भदौ १९ गते ताप्लेजुङ जिल्लाको ओलाङचुङगोलामा जन्मिएका डा. रुइतले तिलगंगा आँखा अस्पताल एवं सयौँ शिविर सञ्चालन गरि लाखौँ स्वदेशी तथा विदेशी नागरिकको आँखा उपचार गरेका छन् । रुइत यसअघि उज्ज्वल कीर्तिमय राष्ट्रदीप, इसा सम्मान, रोमन म्यागासेसे र पद्मश्री विभूषणलगायत दर्जनौँ सम्मान तथा पुरस्कारबाट सम्मानित भइसकेका प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव कृसु क्षेत्रीले जानकारी दिएका छन्।
विसं २०११ माघ ९ गते म्याग्दी जिल्लाको नागीमा जन्मिएका डा पुनले नेपालमा शिक्षा, सञ्चार प्रविधि र विज्ञानको विकासमा गरेको अतुलनीय योगदानका लागि रोमन म्यागासेसे र जोनाथन पोस्टेललगायत दर्जनौँ सम्मान, पदक तथा पुरस्कारबाट सम्मानित भएका छन्।






