काठमाडौं २२ अप्रिल २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्ष र बलिदानबाट आएका पार्टीहरू र तिनका नेताहरूलाई समाजले नराम्रा अभिव्यक्ति दिन लागिपरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हावी भएको भन्दै उनले समाजमा यस्ता गतिविधि बढ्दै जाँदा बुद्धिजीवीले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताए । शनिवार ललितपुरमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका छन् । उनले भने, ‘विचारमा विचलन देखापरेको छ। अहिले कम्युनिष्ट आन्दोलनभित्र मात्रै होइन, देशको समग्र राजनीति र आर्थिक विकासको प्रक्रियामा विचलन देखापरेको छ । राजनीति विचार, सिद्धान्त, मूल्य, आदर्शबाट विचलनतिर जाला कि भन्ने खतरा पैदा भएको छ। गत निर्वाचनमा समाजले विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शका एजेण्डाभन्दा भावना, आवेग र अराजकतालाई प्रश्रय दिने प्रवृत्ति बढेको देखिन्छ। यस्ता वेला बुद्धिजीवीबाट हस्तक्षेप बढ्नु जरुरी छ ।’
उनले पछिल्लो समय कम्युनिष्ट आन्दोलनमा मात्र नभई देशको समग्र राजनीति र आर्थिक प्रक्रियामा विचार, सिद्धान्त, मूल्य, आदर्शमा विचलन देखिएको दाबी गरे। उनले समाजमा देखिएको अराजकताका कारण खतरा पैदा हुने डर पलाएको बताए । उनले गत निर्वाचनमा मान्छेले विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शका एजेण्डाभन्दा भावनालाई प्रश्रय दिएकोप्रति दुःख व्यक्त गरे । उनले लेख, रचनाभन्दा सोसल मिडिया, युट्युब, टिकटकमा लागेर मानिसहरू क्षणिक उत्तेजना, क्षणिक आवेग र अराजक हुने परिपाटी विकसित हुँदै गएको दाबी गरे ।
उनले भने, ‘अहिले कतै न कतै लामो संघर्ष र बलिदानबाट आएका पार्टी र तिनका नेताहरूप्रति सजिलै र धेरै तल उत्रिएर गाली गलौज गर्न लागेका छन्। अहिले वैचारिक विषय वा यस खालका लेख, रचनाभन्दा सोसल मिडिया, युट्युब, टिकटकमा मान्छे लागेका छन् । त्यसले मान्छेलाई क्षणिक उत्तेजना र आवेगमा ल्याई समाजलाई अराजक बनाउने खतरा पैदा भएको छ ।’
प्रधानमन्त्री प्रचण्डले इतिहासको चक्कालाई धकेल्न खोज्ने प्रवृत्ति देखापरेको भन्दै रोक्ने चुनौती आफूसमक्ष रहेको बताए ।






