
बारा २६ अप्रिल २०२३ । प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । मंगलबार राति मतगणना सम्पन्न हुँदा निकटतम् प्रतिद्वन्द्वीलाई पाँच हजार ८१ मतान्तरले पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
विजयी उम्मेदवार यादवले २८ हजार चार सय १५ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय ३४ मत पाउनुभएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।
यस्तै नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले १० हजार दुई सय १६ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले दुई हजार आठ सय २९, आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले दुई हजार सात सय ३८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल साहले एक सय १९ मत, नागरिक उन्मुक्ति पार्टीका कमरुल्लाह अन्सारीले एक सय नौ मत तथा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार मुक्ति यादवले ६० मत पाए ।
बारा क्षेत्र नं २ मा गत आइतबार भएको उपनिर्वाचनमा ६८ हजार आठ सय ८७ जनाले मतदान गरेका थिए । गत वर्ष मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जसपा अध्यक्ष यादव सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग पराजित भएका थिए ।
बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएपछि सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो । निर्वाचित भएका जसपा अध्यक्ष यादवलाई मंगलबार राति नै मुख्य निर्वाचन अधिकृत उपाध्यायले प्रमाणपत्र वितरण गरे ।






