काठमाडौं ३० अप्रिल २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताएका छन् ।
आइतवार दिउँसो सिंहदरबारमा किसान सङ्गठनहरूका प्रतिनिधिसँगको संयुक्त भेटमा प्रधानमन्त्री प्रचण्डले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर मात्रै समृद्धिको लक्ष्य हासिल हुने भएकाले सरकारले त्यहीअनुसार तयारी गरिरहेको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलन किसान आन्दोलनको जगमा उभिएको छ भन्दै भने ‘प्रजातान्त्रिक आन्दोलनको जग पनि किसान आन्दोलन नै हो । आजको परिस्थितिमा उत्पादन पद्धतिमा फेरबदल आएको छ । वैदेशिक रोजगारीले कृषिप्रतिको आकर्षक घटेको छ । तर आज पनि अर्थतन्त्रको मुख्य मेरुदण्ड कृषि नै हो । यसलाई व्यवस्थित गर्नेतर्फ मेरो जोड छ ।’
प्रधानमन्त्रीले आफूले सरकारको नेतृत्व गरेको चार महिनामा निकै राम्रा काम भएका पनि उल्लेख गरे। उनले भने ‘कतिपयले यो सरकारका राम्रा काम देखिरहेका छैनन् । तर चार महिनामा निकै राम्रा काम भएका छन् । लक्ष्यअनुसार नभए पनि राजस्व सङ्कलनमा राम्रो सुधार आएको छ । विदेशी मुद्राको सञ्चिति उत्साहवर्धक रूपमा बढेको छ । पर्यटक आउने क्रममा सुधार आएको छ । अर्थतन्त्रका धेरैजसो सूचकमा सकारात्मक सुधार आएको छ । म सम्पूर्ण रूपले अर्थतन्त्रमा सुधार ल्याउन छलफल र अन्तरक्रियामा छु । केही समयमा सकारात्मक नतिजा देखिन्छ ।’
भेटमा छ वटा किसान सङ्गठन आबद्ध किसान मोर्चाका नेताहरूले कृषि क्षेत्रलाई प्राथमिकता र किसानको सम्मानमा सरकारले ध्यान दिनुपर्ने बताउँदै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पेस गरेका थिए ।






