
काठमाडौं ४ मे २०२३ । परराष्ट्रमन्त्री एनपी (नारायणप्रसाद) साउद बिहीबार बेलायततर्फ लागेका छन् ।
बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन मन्त्री साउद बिहान ११ बजे बेलायततर्फ प्रस्थान गरेका हुन् । उक्त राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जाने तय भए पनि स्वास्थ्यका कारण राष्ट्रपति पौडेल जान नसक्ने भएपछि सरकारले परराष्ट्रमन्त्री साउदलाई बेलायत पठाइएको हो ।
आगामी मे ६ तारिख (वैशाख २३) मा लन्डनको वेस्टमिनिस्टर गिर्जाघरमा हुने राज्याभिषेक समारोहमा हुनेछ । वकिङ्घम राजप्रासादका अनुसार राज्याभिषेक समारोहमा झन्डै दुई हजार पाहुनालाई आमन्त्रण गरिएको छ । समारोहमा संसारभरका राजनेता, राष्ट्र तथा सरकार प्रमुख, राजारानी एवं राजपरिवार सदस्य, विश्वका विभिन्न देशका प्रतिष्ठित व्यक्ति उपस्थित हुने अपेक्षा छ ।
गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयको निधन भएपछि राजसिंहासन सम्हालेका राजा चार्ल्सको राज्याभिषेक समारोहमा ‘क्विन कन्सोर्ट’ पदवी पाएकी क्यामिलाले पनि रानी मेरीको मुकुट लगाउनेछिन् । नेपालले बेलायतसँग पहिलो कूटनीतिक सम्बन्ध सन् १८१६ मा राखेको थियो ।
मन्त्री साउद २६ गते काठमाडौं फर्किने कार्यक्रम छ ।






