एजेन्सी ८ मे २०२३ ।

भारतको केरलामा डुंगा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ।
आइतबार साँझ करिब ७ बजे मलप्पुरम जिल्लाको तनूर नजिक पर्यटक सवार डुंगा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुने अधिकांश बालबालिका तथा महिला रहेका छन् । २५ जनाको क्षमता भएको डुंगामा ५० बढी हाराहारीमा पर्यटक सवार रहेको बताइएको छ। राति दुर्घटना भएकाले उद्धार तथा खोजीका लागि उद्धारकर्मी रातभर खटिएका थिए ।
अझै केही मानिस बेपत्ताको आशंकामा उद्धार कार्य बिहान पनि जारी छ। दुर्घटनाको कारण अझै खुल्न नसकेको र प्रहरीले अनुसन्धान गरी रहेको त्यहाँको प्रहरीले जनाएको छ । डुंगामा क्षमताभन्दा बढी यात्रु सवार रहेकाले डुबेको अनुमान रहेको अधिकारीहरुले बताएका छन् । घटनाप्रति राष्ट्रपति द्रौपती मुर्मू, उपराष्ट्रपति जगदीप धनखड, प्रधानमन्त्री नरेन्द्र मोदी तथा मुख्यमन्त्री पिनाराई विजयनले दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री मोदीले दुर्घटनामा मृत्यु भएकाको परिवारलाई दुई लाख रुपैयाँको दरले राहत प्रदान गर्ने घोषणा गरेका छन् ।






