काठमाडौं २८ मे २०२३ । नेपाल सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को वैठकले नेता चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्रीमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् निर्णयबारे जानकारी दिँदै गणतन्त्र दिवसका अवसरमा नेता चौधरीको बाँकी सजाय मिनाहासँगै आममाफी दिन सिफारिस गरिएको बताए ।
सरकारको सिफारिसअनुसार राष्ट्रपति कार्यालयले निर्णय गरेका खण्डमा नेता चौधरी सोमबार गणतन्त्र दिवसका अवसरमा जेलमुक्त हुनेछन् । विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुनेगरी भएको हिंसात्मक घटनाका आरोपित चौधरी जेल चलान भएका थिए । उनलाई जिल्ला अदालत कैलाली, उच्च अदालत दिपायल र सर्वोच्च अदालत समेतले जन्मकैदको सजाय सुनाएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको तयारी अन्तिम चरणमा पुगेको र सोमबारको मन्त्रिपरिषद्को वैठकले विषयवस्तु (एजेण्डा) को अन्तिम टुङ्गो लगाउनेछ । पत्रकारको एक प्रश्नमा प्रवक्ता शर्माले भनिन्, “प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा को को जाने भन्ने अहिलेसम्म टुङ्गिएको छैन, भ्रमणका एजेण्डा मन्त्रालयहरुले तयारी गररहेका छन्, त्यो अन्तिम चरणमा पुगिसकेको छ । ऊर्जासँगै सीमा समस्याका कुरा पनि छन्, ती विषयमा छलफल भइरहेको छ, औपचारिक निर्णय भने भएको छैन ।






