राष्ट्रिय हितलाई केन्द्रमा राखेर भारत भ्रमण गर्न लागेको छु : प्रधानमन्त्री प्रचण्ड

SHARE:

 

काठमाडौं २९ मे २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय हितलाई केन्द्रमा राखेर आफूले भारत भ्रमण गर्न लागेको बताएका छन् ।

प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा यही जेठ १७ गतेदेखि गर्न लागेको भारत भ्रमणका बारेमा जानकारी दिँदै उनले मुलुकको राष्ट्रिय हितलाई केन्द्रमा राखेर द्विपक्षीय भेटवार्ता गर्ने र महत्त्वपूर्ण सहमति तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यसूची रहेको जानकारी दिए । उनले आफ्नो नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री, अर्थमन्त्री, ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, नेपाल सरकारका सचिवहरू, वरिष्ठ सरकारी अधिकारी सम्मिलित हुने बताए ।

भ्रमणका क्रममा आपसी हितका विविध पक्षमा छलफल तथा सम्झौताका साथै समझदारीपत्रमा हस्ताक्षर हुने भएकाले सोहीअनुसारको प्रतिनिधिमण्डल तय गरिएको प्रधानमन्त्रीले उल्लेख गरे । नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर क्षेत्रगत विज्ञ, पूर्वप्रधानमन्त्री परराष्ट्रमन्त्रीलगायतसँग आफूले छलफल गरेको र सकेसम्म राष्ट्रिय सहमति बनाउने प्रयास गरेको प्रधानमन्त्रीको भनाइ छ ।

भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै, भारतका राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा नेपाल भारत सम्बन्धका विविध पक्षमा महत्त्वपूर्ण छलफल हुने जानकारी दिँदै प्रधानमन्त्रीले द्विपक्षीय व्यापार पारवहन, ऊर्जा व्यापार, अन्तरदेशीय प्रसारण लाइन, बाढी नियन्त्रण, हवाई मार्ग र एकीकृत जाँचचौकी, आन्तरिक कन्टेनर डिपोलगायतका विषयमा समझदारी गरिने बताए ।

सुदूरपश्चिम प्रदेशमा भारतसँग मोटरेबल र झोलुङ्गे पुल निर्माणका बारेमा पनि छलफल गर्ने कार्यसूची तय भएको छ । नेपालको हित सुनिश्चित हुने गरी ऊर्जा क्षेत्रमा लगानी भित्र्याउने उद्देश्य राखिएको उनको भनाइ छ । जलविद्युत् लगानीका लागि आधार सुनिश्चित गर्ने, बङ्गलादेशमा बिजुली बिक्रीका बारेमा ठोस कुराकानी हुने तथा महाकाली सन्धि भएको लामो समयसम्म पनि अगाडि बढ्न नसकेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआरलाई अन्तिम रूप दिने प्रधानमन्त्रीको भनाइ छ ।

सीमा समस्यालगायतका कतिपय विषय सम्बोधन गर्न ठोसरूपमा विश्वासको वातावरण बनाउने प्रयास आफूले भ्रमणको क्रममा गर्ने प्रधानमन्त्रीको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले संयुक्तरूपमा आयोजना गर्ने नेपाल–भारत बिजनेश समिटलाई सम्बोधन गर्नुका साथै दुवै देशका उद्योगी व्यापारीसँग अन्तक्र्रिया गर्ने कार्यक्रमसमेत तय भएको प्रधानमन्त्रीले सदनलाई जानकारी दिए ।

उनले भारतको मध्यप्रदेशको इन्दोर र उज्जैनको भ्रमण गर्ने कार्यक्रमसमेत तय भएको बताए । इन्दोरमा स्वच्छ भारत अभियानअन्तर्गतको फोहर प्रशोधन परियोजनाको अवलोकन गर्ने र आइटी पार्कको समेत अवलोकन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २१ गते आइतबार बिहान ११ बजे बस्नेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!