प्रधानमन्त्री प्रचण्ड चार दिने भारत भ्रमण सकेर स्वदेश फिर्ता

SHARE:

काठमाडौं ३ जुन २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो चार दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन्।

शनिबार साँझ ६ बजेपछि प्रधानमन्त्री दाहाल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका हुन् । चार दिने भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले भारतसँग ऊर्जा ब्यापार, कार्गो रेल, पारवहन, डिजिटल भुक्तानी प्रणाली लगायतका विषयमा सम्झौता गरेका छन् ।

उनले भारतीय समकक्षी मोदीसहित राष्ट्रपति, उपराष्ट्रपति र अन्य उच्च अधिकारीहरूसँग भेट गरेका थिए । प्रधानमन्त्री दाहालले भ्रमणको क्रममा शुक्रबार मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा १०८ किलो रुद्राक्ष चढाउँदै पूजा समेत गरेका थिए। प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणलाई ऐतिहासिक उपलब्धिको रुपमा व्याख्या गरेका छन् ।

नयाँ दिल्लीबाटै प्रधानमन्त्री प्रचण्डले तीन कारणले भ्रमण ऐतिहासिक भएको बताएका थिए। भारत भ्रमणका क्रममा दिल्लीमा सबै उच्चस्तरीय भेटवार्ता सकेर मध्यप्रदेश जानुअघि सीमित पत्रकारहरूलाई प्रचण्डले भ्रमणले ऊर्जा व्यापारमा ब्रेक थ्रु हासिल गरेको सुनाएका थिए । पहिलो, उनको शब्दमा दीर्घकालीन ऊर्जा व्यापार सम्झौता धेरै नेपालीको चाहना थियो। प्रधानमन्त्रीको भनाइमा भारतसँग दीर्घकालीन ऊर्जा व्यापार दुई देशको सम्बन्धमा पछिल्लो ब्रेक थ्रु हो ।
उनले बंगलादेश–भारत–नेपाल त्रिपक्षीय विद्युत् व्यापारमा भएको समझदारीलाई पनि महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे ।

दोस्रो, भारतले नेपाललाई हवाई प्रवेश रुट नेपालगन्ज दिन सकारात्मक जवाफ दियो। तेस्रो, सीमा समस्या समाधान गर्नुपर्छ भन्नेमा प्रधानमन्त्री मोदीले नै जोड दिए । ‘यसकारण मेरा लागि यो भ्रमण ऐतिहासिक रह्यो,’ प्रचण्डको भनाइ थियो । प्रचण्डले तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माणमा भएको सहमति पनि महत्वपूर्ण भएको सुनाए। भारतसँग ऊर्जा व्यापार सम्झौताले नेपालमा ऊर्जा क्षेत्रमा लगानीका लागि विगतको डर हटेको उनको विश्लेषण थियो।

‘भारतमा ऊर्जा व्यापार गर्ने अवस्था विगतमा थिएन। बजार छैन भनेर नेपालमा ऊर्जा क्षेत्रमा लगानी गर्न लगानीकर्ताहरू विगतमा डराए। अब लगानीकर्ताको डर हराउने भयो। अब ऊर्जा क्षेत्रमा उत्साहजनक रूपमा लगानी आउँछ,’ प्रधानमन्त्री प्रचण्डको भनाइ थियो। नेपालले ऊर्जा व्यापारभन्दा ऊर्जा खपतमा पनि जोड दिने प्रचण्डको भनाइ छ। भारतले नेपालमा विदेशी चिनियाँ लगानीकर्ता तथा ठेक्का प्रक्रियामा चिनियाँ सामेल भएर उत्पादिन बिजुली खरिद गर्न अरुचि देखाउँदै आएको थियो। यस विषयमा पनि प्रचण्डले मोदीसँग वार्तामा कुराकानी गरेको बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!