काठमाडौं ७ जुन २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित नभएको बताएका छन् ।
हुन बाँकि सहमतीलाई पनि बिगार्ने र नेपाललाई नै कमजोर बनाउने गरी आफ्नो भारत भ्रमणको सकिनसकि विरोध गर्ने तरिका उचित नभएको प्रधानमन्त्री दाहालको तर्क थियो । बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले आफूले भारतसँग गरेका सहमतिका लागि राष्ट्रिय एकता प्रर्दशन गर्न पनि सबै पार्टीलाई आग्रह गरे ।
प्रधानमन्त्री दाहालले आफूले भारतीय पक्षसँग कालापानी क्षेत्र साट्ने प्रस्ताव नगरेको पनि दोहोर्याए । बरु बंगलादेश जाने बाटोको विकल्पबारे पनि नेपालका केही बुद्धिजीविहरुले छलफलमा ल्याएको कुरा आफूले नेपाली पत्रकारहरुसँगको कुराकानी गरेको उनको स्पष्टिकरण थियो । प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक दुई मुलुकबीचको सीमा समस्या समाधान गर्ने भनेर दिएको सार्वजनिक अभिव्यक्ति नेपालको लागि ठूलो कुरा भएको बताए ।
उनले आफूले भारत भ्रमणको क्रममा मुलुकको समृद्धिका लागि नयाँ ढोका खोलेको दावी समेत गरे ।प्रधानमन्त्री दाहालले आफूले भारत भ्रमणको क्रममा खर्बौको लगानी भित्र्याउने गरी सहमती गरेको जिकीर समेत गरे ।






