काठमाडौं ८ जुन २०२३ ।

साफ च्याम्पियनसिपका लागि नेपालले राष्ट्रिय टोलीको घोषणा गरेको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले २३ सदस्यीय नयाँ टोली घोषणा गरेका हुन् । प्रतियोगिता सुरु हुनु दुई साताअघि घोषणा गरिएको टोलीमा ३ नयाँ खेलाडी छन् । डिफेण्डरहरू विमल पाण्डे र सीमान्ता थापा तथा मिडफिल्डर लाकेन लिम्बु नयाँ अनुहार हुन् ।
अरू डिफेन्डरमा सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का र रोहित चन्द रहेका छन् । टिममा गालकिपर किरण चेम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ छन् । मिडफिल्डमा पुजन उपरकोटी, एरिक विष्ट, नविन लामा, मणिकुमार लामा, लाकेन लिम्बु र आभाष लामिछाने छन् । फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, दीपक राज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी र विमल घर्ती मगर रहेका छन् ।
भारतको बैंगलोरमा हुने साफ च्याम्पियनसिपको उद्घाटन खेलमा जुन २१ तारिखमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल भारत, पाकिस्तान र कुवेत सम्मिलत कठिन समूहमा परेको छ । नेपालले जुन २४ मा भारत र जुन २७ मा पाकिस्तानविरुद्ध खेल्ने तालिका छ ।






