काठमाडौं ८ जुन २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति गर्नुपर्ने बताएका छन् ।
बिहीबार बुटवल-पाल्पाको लुम्बिनी केबलकारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले महामारीको मारमा परेका व्यवसायीहरुलाई राहत दिनेगरी तथा शिथिल बन्न पुगेको देशको अर्थतन्त्रलाई थप चलायमान बनाउने गरी निजी क्षेत्रका साथीहरुका सुझावलाई सरकारले हालै सार्वजनिक गरेको आगामी वर्षको बजेटमा समेटेको बताए।
प्रधानमन्त्री दाहालले वर्तमान सरकार निजी क्षेत्रको साथमा रहेको बताए । उनले पर्यटन क्षेत्रको बहुआयामिक विकासका निम्ति भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन, होटल तथा पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रबन्ध एवं पर्यटनको बसाइ लम्ब्याउन आवश्यक प्रवन्ध मिलाउने सरकारको लक्ष्य रहेको बताए । प्रधानमन्त्री दाहालले अर्थतन्त्र चलायमान बनाउन उद्योग व्यवसायलाई शंकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारु गरिएको र यसले अर्थतन्त्र चलायमान बनाउन ठूलो मुद्दा पुग्ने विश्वास व्यक्त गरे ।
आफ्नो भारत भ्रमणपछि नेपालमा हाइड्रोपावरको क्षेत्रमा ठूलो लगानीको बाटो खुलेको पनि बताए । प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएपछि अर्थतन्त्र सुदृढ बन्दै आएको दाबी गरे ।






