लण्डन १० जुन २०२३ ।
बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले प्रधानमन्त्री रहेका बेला कोभिड नियम पालना नगरेको आरोपमा संसदीय अनुसन्धान भइरहेका बेला सांसद पदबाट राजीनामा दिएका छन् ।
उनले तत्काल लागू हुने गरी संसद्को सदस्यता त्याग्ने घोषणा गरेको बीबीसीले जनाएको छ । बोरिसको राजीनामापछि उनको निर्वाचन क्षेत्र ‘अक्सब्रिज एन्ड साउथ रायस्लिप’ मा अब उपनिर्वाचन हुनेछ । संसदीय समितिले कोरोनासँग सम्बन्धित सबै नियम पालना गरेको भन्दै सदनलाई ढाँटेको आरोपमा जोन्सनमाथि छानबिन गरिरहेको छ ।
राजीनामा वक्तव्यमा जोन्सनले आफूमाथि अनुसन्धान गरिरहेका संसदीय समितिको कडा आलोचना गरेका छन् । सन् २०२२ मा प्रधानमन्त्रीको पद त्यागेपछि उनी सांसदको जिम्मेवारीमा रहंदै आएका थिए ।






