नेपाली दूतावास लन्डनद्वारा कीर्तिमानी सगरमाथा आरोहीहरुलाई सम्मान

SHARE:


लन्डन १३ जून २०२३ । नेपाली दूतावास लन्डनले विभिन्न आरोहीलाई सम्मान गरेको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानिसले पहिलोपटक पाइला टेकेको ७० वर्ष पुगेको अवसरमा सोमबार साँझ दूतावासमा आयोजित विशेष समारोहमा सगरमाथा आरोहणबाट कीर्तिमानी राखेका ब्रिटिस र नेपाली आरोही सम्मानित भएका हुन् । ब्रिटिस गोर्खा सेनामा कार्यरत रहँदा युद्ध मैदानमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका हरि बुढामगर, १७ पटक सगरमाथा आरोहण गर्ने बेलायती नागरिक केन्टन कुल, सगरमाथा चढ्ने पहिलो ब्रिटिस महिला रेबेका स्टेफेन्स, सबैभन्दा कम अवधि ६ महिना ६ दिनमा संसारका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका निर्मल पूर्जालगायत सम्मानित भएका हुन् ।

सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारी सगरमाथाको चुचुरोमा पुगेका थिए । कार्यक्रममा स्वर्गीय तेन्जिङ नोर्गेका छोरा जेम्लिङ तेन्जिङ र हिलारीका छोरा पिटर हिलारी, छोरी सारा हिलारी आदिलाई पनि सम्मान गरियो । बेलायती राजपरिवारका सदस्य ड्युक अफ ग्लोस्टर एवं राजदूत ज्ञानचन्द्र आचार्यले उनीहरूलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा पिटर, सारा र जेम्लिङले आफ्ना पिताले सगरमाथा आरोहण गर्दाको अवस्था चित्रण गर्दै उनीहरुले विश्व कीर्तिमान मात्र नराखी विश्व आरोहीका लागि सदैव प्रेरणाको स्रोत बनेको जनाए । उनीहरूले जलवायू परिवर्तनको मार खेपिरहेको सगरमाथाको संरक्षण गर्नु नेपालको मात्र नभई विश्वकै जिम्मेवारी भएको पनि उल्लेख गरे ।

आरोहीहरू हरि बुढामगर, केन्टन कुल र रेबेका स्टेफन्सले सगरमाथा आरोहण गर्दाको अनुभव सुनाए । आरोही बुढामगरले कयौं चुनौतीलाई दृढ इच्छाशक्तिले जित्दै सफलता प्राप्त गरेको बताए । दुवै खुट्टा नभएका कारण आरोहण अनुमति नपाएपछि नीति परिमार्जन गराउन सर्वोच्च अदालतमा मुद्दा नै लड्नुपरेको अनुभव उनले सुनाए । सो अवसरमा ‘ड्युक अफ ग्लस्टर’ ले हिमालहरूको संरक्षण नेपालको मात्रै दायित्व नभएको भन्दै सारा विश्व यसप्रति प्रतिबद्ध बन्नुपर्ने बताए ।

कार्यक्रमका सहभागीलाई स्वागत गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले सगरमाथा आरोहणको ७० वर्षलाई उपलब्धिमात्र नभई प्रेरणाको अवसरका रुपमा पनि मनाउनुपर्ने धारणा राखे । राजदूत आचार्यले पछिल्लो समय हिमालहरूमा पर्यावरणीय असरका कारण विभिन्न प्रकोप बढ्दै गएकोतर्फ सबैको ध्यान जान जरूरी रहेको उल्लेख गरे ।

दूतावासकी नियोग उपप्रमुख रोशन खनालले सञ्चालन गरेको उक्त कार्यक्रममा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारी सगरमाथाको चुचुरोमा पुग्दाको ऐतिहासिक भिडियो प्रदर्शन गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!