लण्डन १४ जुन २०२३ ।

साउथ इस्ट तमुधिं लन्डनको दशौं कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ ।
नवनिर्वाचित अध्यक्ष प्रेमकुमार गुरुङको अध्यक्षतामा यही १० जून २०२३ का दिन बैठक बसेको हो । बैठक अध्यक्ष प्रेमकुमार गुरुङ र संस्थापक अध्यक्ष चन्द्रमान गुरुङले दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए । बैठकमा उपाध्यक्ष शिवराम गुरुङको स्वागत मन्तव्यसँगै सुरु भएको बैठकमा संस्थाका सल्लाहकारमा मनोनीत भएकाहरुलाई खादा लगाएर सम्मान गरिएको थियो ।
नवनिर्वाचित सचिव कमल गुरुङले सञ्चालन गरेको बैठकमा उपस्थित सल्लाहकारहरुले आ-आफ्नो भनाइ राख्दै संस्थाको उन्नति र प्रगतिका लागि सबै सदस्यहरु एकजुट भई अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए । साथै आगामी दिनमा समाजलाई क्रियाशील बनाउन कार्यसमितिले वार्षिक कार्यतालिका सोही अनुसारको कार्य गरेमा समाजको दिगो विकास हुनसक्ने सुझाव उनीहरुको थियो । त्यसक्रममा सल्लाहकारहरुले दशौं कार्यसमितिको सम्पूर्ण पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
बैठकमा विशेष उपस्थितिमा संस्थापक अध्यक्ष चन्द्रमान गुरुङ, संस्थापक आमा प्रमुख माया रानी, संस्थापक प्रमुख सल्लाहकार मोहन गुरुङ, निवर्तमान अध्यक्ष ह्यारी गुरुङ, डाइमण्ड बुद्धिष्ट सेन्टर यूकेका अध्यक्ष योगेश गुरुङ, प्रमुख सल्लाहकार रमी गुरुङ, उपाध्यक्ष चन्द्र गुरुङ, सोंपाल समाज यूकेका उपाध्यक्ष जगदीश गुरुङ र श्रीमती दिता गुरुङ सहभागी थिए । संस्थाको आय-व्यय कोषाध्यक्ष र सहकोषाध्यक्षको अनुपस्थितिमा सचिव कमल गुरुङले प्रस्तुत गरेका थिए ।
साथै संस्थाले आगामी दिनमा गर्ने महत्वपूर्ण कार्यहरु वार्षिक कार्यक्रमको क्यालेन्डर निर्माण, आजीवन सदस्यहरुको रात्रिभोज, देउसी भैलो कार्यक्रम, ल्होछार कार्यक्रमको संयोजनजस्ता विषयमा छलफल र निर्णय गरिएको साउथ इस्ट तमुधिं लन्डनले जनाएको छ । संस्थाको अर्को बैठक आउँदो जुलाई २३ मा बस्ने निर्णय गरिएको छ । अन्त्यमा नवनिर्वाचित उपमेयर जीत रानाभाटलाई बधाई तथा सम्मान कार्यक्रम गरिएको थियो ।
सामाजिक अभियन्ता रानाभाट गत ३१ मे २०२३ का दिन लन्डनको रोयल बरो अफल ग्रीनवीचमा उपमेयर निर्वाचित भएका थिए ।






