काठमाडौं १६ जुन २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा रहेका जातजातिलाई तथ्याङ्कमा नाममा फुटाउने काम नहुने बताएका छन् । नेपाल मगर सङ्घले भूम्या पर्व –२०८० का अवसरमा आज खुलामञ्चमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने “फुटाउने काम हुँदैन, देशलाई जातिलाई फुटाउन हुँदैन भन्नेमा म स्पष्ट छु ।”
मगरलगायत अरु आदिवासी समुदायलाई केन्द्रीय तथ्याङ्क कार्यालयले जनगणनाका क्रममा विभाजित गरेको गुनासो आफूसमक्ष आएको र त्यसलाई सच्याउन निर्देशन दिने उनले बताए । सबै जातजातिमध्ये मगर समुदायमा विचार, नेतृत्व र नेताको रक्षामा प्रतिबद्ध पाइएको भन्दै प्रधानमन्त्री दाहालले मगर समुदायको व्यक्तिलाई राष्ट्रकै सम्मानित पद उपराष्ट्रपति र सभामुख बनाइएको बताए । नेपाल बहुजातीय, बहुभाषिक, विभिन्न सांस्कृतिक विविधता भएको उल्लेख गर्दै उनले यो ऐतिहासिक विरासत नेपालको विशिष्ट पहिचानका रूपमा रहेको बताए ।
आदिवासी सबै प्रकृतिको पूजा गर्ने संस्कृतिबाट विकास हुँदै आएको इतिहास रहेको जनाउँदै उनले प्रकृतिको संरक्षण गर्ने कुरा सम्पूर्ण मानव जातिको संरक्षण गर्नेमा निहित छ भने । प्रकृतिका संरक्षण, सम्मान र संवर्द्धन गर्ने पर्वका रूपमा भूमेपर्व रहेको उल्लेख गर्दै उनले यसपर्व मावन जातिकै हितसँग सम्बन्धित भएको बताए । उनले मगर समुदायका साथै सबै आदिवासी जनजाति, भाषाभाषी नेपालीमा शुभकामना व्यक्त गरे ।
सो समारोहमा राष्ट्रियसभा सदस्य सुरेश आलेमगरले देशभरका मगरहरूको एकता आवश्यक रहेको बताए । पुन समाज नेपालका संरक्षक एवं पूर्वमन्त्री उत्तम पुनले मगर जातिको तथ्याङ्कलाई सच्याउन तथ्याङ्क कार्यालयसँग आग्रह गरे । सो अवसरमा मगरजातिका सांस्कृतिक,सामाजिक झाँकी प्रदर्शनी गरिएको थियो ।






