काठमाडौं १८ जुन २०२३ ।

नेपालमा बाढी र पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने २९ जना बेपत्ता भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले दिएको जानकारीअनुसार बाढीपहिरोबाट संखुवासभा‚ ताप्लेजुङ र पाँचथरमा एक‚एकजनाको ज्यान गएको हो । उनका अनुसार हालसम्म २९ जना बेपत्ता रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार सबैभन्दा धेरै बेपत्ता हुने जिल्ला संखुवासभा हो । संखुवासभामा २० जना बेपत्ता रहेका छन् । संखुवासभाको हेवाखेलामा गतराति आएको बाढीले सात घर बगाएको छ ।
बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १५ मजदुर सम्पर्कविहीन भएका छन् । १८ जना मजदुरमध्ये ३ जना सम्पर्कमा आएको प्रहरीले जनाएको छ । सोही जिल्लाको मकालु गाउँपालिकामा चारजना बेपत्ता भएको प्रहरी प्रमुख बास्तोलाले जानकारी दिए । एकजनाको शव भेटिएको उनले जानकारी दिए । यसैगरी पाँचथर पाँचजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ का आशिष र एलिसा माझी र अन्य एकजना रहेका छन् ।
बाढीपहिरोले मेची राजमार्गमा पर्ने फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुल बगाएको छ। पुल बगेसँगै राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको डिआइजी बास्तोलाले बताए । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीनजना बेपत्ता छन् । पहिरोले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् ।
बेपत्ता परिवारमध्ये एकजनाको शव निकालिएको छ। यद्यपि उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । सोही ठाउँका अर्का एकजना भरत तामाङ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढी पहिरोका कारण ताप्लेजुङ, पाँचथर र संखुवासभामा ठूलो क्षति भएको बाँस्तोलाले जानकारी दिए । तीन जिल्लाको धेरै ठाउँमा पुलपुलेसा भत्किएका छन् । केही हाइड्रोमा क्षति पुगेको छ । पाँचथरको हिलिहाङ र फिदिमको सिमानामा पर्ने मेची राजमार्गको पुलमा पूर्ण क्षति पुगेको छ ।
तमोर करिडोरमा विभिन्न पुल भत्किएका छन् । धनकुटा मूलघाटतिर जाने बाटोको आगमन बन्द भएको डिआइजी बाँस्तोलाले जानकारी दिँदै भने, ‘वर्षा रोकिने र पर्ने क्रम जारी छ । तीन जिल्लाका सम्पूर्ण युनिटका कर्मचारी उक्त ठाउँमा उद्धारमा खटिएका छन् । नेपाली सेना र सशस्त्र प्रहरी पनि उद्धारमा लागेका छन् ।’
कतिपय ठाउँमा बाटो बन्द भएका कारण बाटो फेरेर पनि जानुपर्ने अवस्था रहेको र पुग्न नसकेका ठाउँमा रेडक्रसको टोली गएको र जोखिममा भएका मानिसलाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।






