लण्डन १९ जुन २०२३ ।

बेलायतमा आयोजित दोश्रो ए स्टार नेपलिज बास्केटबल लिग २०२३ को उपाधि डिबिएसले जितेको छ ।
लन्डन ब्रुनेल विश्वविद्यालय प्रागंणमा भएको फाइनल खेलमा डिबिएसले साउथ आसफोर्ड वुल्फ्सलाई ५६–५३ ले हराएको हो । नेपाल बास्केटबल यूकेले गत ३ मार्चदेखि शुरु गरेको सो लिग १७ जुनसम्म चलेको थियो । फेल्थम, मेडिस्टोन, हेज एण्ड हार्लिङटन र अक्सब्रीजमा खेलिएको लिगमा ११ टिम डिबिएस, इष्ट ग्रीजलिज, स्यान्डहर्स्ट निक्स, ग्रीनफोर्ड नाइट्स, साउथ आसफोर्ड वुल्फ्स, हिमालयन हिट, कोलचेष्टर एलिट, बलर्स स्लामर्स, वाटरमेलन स्न्याचर्स, मेडस्टोन टाइटन्स र प्लमस्टिड ज्यागुअर्सले प्रतिष्पर्धा गरेका थिए ।
फ्रेण्डली म्याचमा महिलातर्फ ‘म खेल्छु’ टिमलाई स्थानीय टावर ह्याम्लेट्स ट्रोजन्सले २७–४३ ले हरायो भने भेट्रान पुरुषबीच ट्याप ट्याप सेन्डले नेपलिज सेन्टर हेजलाई ५१–३७ ले हराएको आयोजक नेपाल बास्केटबल यूकेका सचिव भुवन लिम्बुले जनाए । यस सिजनको थ्री प्वाइन्ट लिडर अवार्ड कोलचेष्टर एलिटका विनय लिम्बुले पाए भने स्कोरिङ लिडर ९रेगुलर सिजन० अवार्ड कोलचेष्टर एलिटकै रवि राईले पाए । रुकी अफ द इयर मेडिस्टोन टाइटान्सका विश्वास राना र योङ प्लेयर अफ द इयर साउथ आसफोर्ड वुल्फ्सका रोशन थकालीले प्राप्त गरे ।
डिफेन्सिभ प्लेयर अफ द इयर वाटरमेलन स्न्याचर्सका रोशन गुरुङ र कोच अफ द इयर उपाधि पनि वाटरमेलन स्न्याचर्सकै सुजन गुरुङले हात पारे । रेगुलर सिजन मोष्ट भ्यालुएवल प्लेयर ग्रीनफोर्ड नाइट्सका विवेक थापा, फाइनल्सका मोष्ट भ्यालुएवल प्लेयरको अवार्ड डिबिएसका आशिष बस्नेतले पाए ।
लिगको फाइनल खेल हेर्न करिब ३२५ दर्शक उपस्थित रहेको आयोजकले जनाएका छन् ।
फाइनल हेर्न हिलिङडन मेयर शेहर्यार अहमद वालाना, हन्स्लो काउन्सिलर विष्णु गुरुङ, कीर्तिमानी पर्वतारोही हरि बुढामगर अतिथिका रुपमा सहभागी थिए भने सृजना गुरुङले कार्यक्रम सञ्चालन गरेकी थिइन् । डिजे शिवाले दर्शकलाई मनोरञ्जन दिलाए । लिगको टाइटल स्पोन्सर ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका प्रवन्ध निर्देशक मीन दर्लामीले युवाहरुको प्रतिभा उजागर गर्न प्रतियोगिता गरिएको जनाए ।
उक्त लिगको गोल्ड स्पोन्सरहरुमा ट्याप ट्याप सेन्ड र नेपलिज सेन्टर हेज रहेका थिए । अन्य स्पोन्सरहरुमा केन्ट बलर, बल ड्रिभन, गोर्खा कन्सट्रक्सन थिए ।






