काठमाडौं १२ जुलाई २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहालको ६९ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार बिहान काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।
सीताको बिहान ८:३३ बजे निधन भएको नर्भिक अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि थला परेकी थिइन् । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई बिहान ८ बजे अस्पताल लगिएको थियो । आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिएको थियो । तर सुधार नभएपछि ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरिएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सामेल सीता नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार थिइन् ।
सीताको शबव श्रद्धाञ्जलीको लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ देखि १ बजेसम्म राखिने र २ बजे पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीसहित अन्त्येष्टि गरिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।






