
लन्डन १७ जुलाई २०२३ । नेपालले ३४ पृष्ठको विद्युतीय राहदानी अब जारी नगर्ने भएको छ । अबदेखि सबै राहदानी ६६ पृष्ठमा जारी हुने भएका छन् ।
लन्डनस्थित नेपाली दूतावासले सोमबार जरूरी सूचना जारी गर्दै ३४ पृष्ठको विद्युतीय राहदानीका लागि आवेदन रद्ध गरिएको जनाएको छ। राहदानी विभागबाट हाल ६६ पृष्ठको राहदानी मात्रै जारी भइरहेको तथा आगामी दिनमा पनि ६६ पृष्ठमा मात्रै राहदानी जारी गरिने सूचनामा उल्लेख छ । सोअनुसार अब विद्युतीय राहदानी लिंदा अनिवार्य रुपमा ६६ पृष्ठका लागि आवेदन गर्न आग्रह गरिएको छ ।
यसैबीच, ३४ पृष्ठको राहदानीका लागि आवेदन गरिसकेका आवेदकहरुले पनि अब ६६ पृष्ठकै राहदानी पाउने भएका छन् । उनीहरुको ३४ पृष्ठको आवेदन रद्ध भएको र सोही आवेदनलाई ६६ पृष्ठको लागि ट्रान्सफर गर्ने कार्य दूतावासले गरिरहेको जनाइएको छ ।
पहिले नै आवेदन दिएकाहरुले अब कुनै थप शुल्क वा कागजात बुझाउन पर्नेछैन भने ती आवेदनहरुलाई ३४ पृष्ठबाट ६६ पृष्ठमा ट्रान्सफर गर्ने प्रक्रिया दूतावास आफैले मिलाउने भएको छ।
३४ पृष्ठको आवेदन दिइसकेका आवेदकहरुलाई आवेदन रद्ध भएको भन्दै स्वत: सन्देश आएको भएपनि उनीहरुले तत्काल केही गर्नु नपर्ने पनि दूतावासले स्पष्ट पारेको छ।







