लण्डन १९ जुलाई २०२३ ।

बेलायत जानका लागि पोखराका तीन युवाले पूर्व बेलायती सैनिकको छोरा बनेर नक्कली नागरिकता लिएको खुलेको छ ।
जसका कारण नक्कली बाबु बनेका २ जना पक्राउ पछि कारागार चलान भएका छन् । बाबु बनेर नागरिकता दिलाएको आरोपमा पूर्वबेलायती सैनिक ६१ वर्षका सूर्यहाङ लिम्बु र नागरिकता दिलाउन सहजीकरण गरेको आरोपमा ६० वर्षका सूर्यबहादुर फयाङ लिम्बु पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
उनीहरुले जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता दिलाएको खुलेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहालले पोखरा १० का २१ वर्षी रविन गुरुङ, पोखरा १२ का १९ वर्षीय प्रशान्त मगर र पोखरा १६ का २९ वर्षीय गणेश गुरुङले मोरङको बेलबारी नगरपालिका ११ ठेगाना र पूर्व सैनिक सुर्यहाङ लिम्बूको छोरा बनेर २ वर्षअघि नागरिकता लिएको खुलेको हो ।
हाल उनीहरु तिनै जना फरार छन् । घटनाको अनुसन्धानका क्रममा गएको ५ असारमा ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ स्थायी ठेगाना भइ मोरङको लेटाङ नगरपालिका ७ मा बस्दै आएका ६१ वर्षीय सूर्यहाङ लिम्बूलाई प्रहरीले पक्राउ गरेको थियो । उनकै बयानका आधारमा भोलिपल्ट धरान उपमहानगरपालिका ११ का ६० वर्षीय सूर्यबहादुर फयाङ लिम्बू पक्राउ परेका थिए । उनीहरु दुवै जनता भूतपूर्व बेलायती सैनिक हुन् ।
उनीहरुले नक्कली नागरिकता बनाउन सहयोग गरेकोमा सुरुमा ५ लाख र पछि ३५ लाख पाउने आश्वासन पाएका थिए । सूर्यबहादुरले ५ लाख पाइसकेका थिए । बेलायत पुगेर जागिर खान थालेपछि थप ३५ लाख पाउने भनिए पनि तिनै जना केटाहरु फरार छन् । पोखराका केटाहरुलाई नक्कली बाबु खोज्दै पोखराकै टेकबहादुर गुरुङले मोरङ लगेको खुलेको छ ।






