काठमाडौं ३१ जुलाई २०२३ । बेलायती सेनामा लामो समय काम गरेर फर्केका नेपालीहरुले खेपेका विभिन्न विभेदहरुको विषयमा संसद्मा संगठितरुपमा आवाज उठाउन भन्दै संसद् बाहिर एक संसदीय समिति गठन गरिएको छ ।
ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युकेले आइतबार बानेश्वरमा आयोजना गरेको छलफल कार्यक्रममा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडा संयोजक र नेकपा एमालेका सांसद एलपि साँवा लिम्बू सहसंयोजक रहेको ‘सर्वदलीय संसदीय समिति’ गठन गरिएको छ । समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली, राप्रपाबाट धवलशम्शेर राणा र ध्रुवबहादुर प्रधान, नेकपा माओवादी केन्द्रकी दुर्गा राई, नेपाली काँग्रेसकी सीताकुमारी राना, जनता समाजवादी पार्टीकी सुशीला श्रेष्ठ र नेपाली काँग्रेसका सांसद खमबहादुर गर्बुजा रहेका छन् ।
सर्वदलीय संसदीय समितिको सल्लाहकारमा पूर्वराज्यमन्त्री दिलमान पाख्रिन, एनआरएन युकेको अध्यक्ष प्रेम गाहामगर र पूर्वसभासदद्वय दिब्यमणि राजभण्डारी छन् । समितिको सदस्य सचिवमा सुनमान तामाङ र सचिवालय सञ्चालन एलबि घिसिङलाई सलाहकारमा चयन गरेको छ ।
कार्यक्रममा संघर्ष समितिका सल्लाहकार एलबि घिसिङले नेपालमा नेपालीहरुको गोर्खा पल्टनमा प्रवेशको विगत देखि वर्तमनसम्मको अवस्थाका बारेमा एक जानकारी पत्र प्रस्तुत गरेका थिए । घिसिङका अनुसार गोर्खा ब्रिगेडको प्रारम्भ सन् १८१५ मे १३ मा भएको हो । १८१५ देखि १९४७ सम्म करिब ८ लाख र त्यस यताका वर्षहरुमा करिब २ लाख नेपाली युवाहरु गोर्खा पल्टनमा भर्ती भएको तथ्यांक प्रस्तुत गरेका थिए ।






