काठमाडौं ३ अगष्ट २०२३ ।

सर्वोच्चका वरिष्ठ न्यायाधीश विश्वम्बरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस भएका छन् ।
बिहीबार सिंहदरवारमा बसेको संवैधानिक परिषद्को बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानन्यायाधीशमा श्रेष्ठलाई सिफारिस गरेको बताए । प्रधानन्यायाधीश हरिकृष्ण कार्की भोलिबाट अवकासमा जाँदैछन् ।
एक महिनाअघि नै प्रधानन्यायाधीशको सिफारिस गर्ने संवैधानिक प्रावधान भए पनि राजनीतिक दलका शीर्ष नेताहरूबीच तालमेल नमिल्दा संवैधानिक परिषद्को बैठक बस्न सकेको थिएन । संवैधानिक परिषद्को बैठक बोलाउन ढिलाई गरेकोप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिकरूपमै प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना गर्दै आएका थिए ।
गत आइतबार तीन दलका शीर्ष नेताहरूबीच संवैधानिक परिषद्को बैठक बोलाउने निर्णय भएको थियो । गत मंगलबार बसेको संवैधानिक परिषद्को बैठक भने अनिर्णित बनेको थियो । डोटीमा जन्मिएका श्रेष्ठले विसं २०३८ चैत २७ गतेदेखि अधिकृतबाट न्याय सेवामा प्रवेश गरेका थिए । त्यसपछि उनी विभिन्न जिल्लामा न्यायाधीश भएका थिए ।
पुनरावेदन अदालतको न्यायाधीश हुँदै श्रेष्ठ विसं २०७३ साउन १३ मा सर्वोच्च अदालतको न्यायाधीश भएका थिए ।






