काठमाडौं ६ अगष्ट २०२३ ।

लन्डन । साउथ इष्ट लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरको छैठौं अधिवेशन यही अगस्ट २७ आइतबार हुने भएको छ ।
चार्ल्टन हाउसमा हुने अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । मन्दिर समितिका अध्यक्ष दासुराम पाण्डेका अनुसार गत बुधबार सम्पन्न बैठकले अधिवेशन मिति तोक्दै अधिवेशन र नयाँ कार्यसमिति चयनका लागि आवश्यक तयारी आगाडि बढाउने निर्णय गरेको हो ।
जसनुसार पूर्व अध्यक्ष नरेन्द्र कंडेलको संयोजकत्वमा ट्रस्टीद्वय मोतिराज भण्डारी र अर्जुन गौतम सदस्य रहेको निर्वाचन समिति गठन गरिएको छ । त्यस्तै, ट्रस्टी कर्ण शाहीको संयोजकत्वमा ट्रस्टीद्वय फडिन्द्र भट्टराई र सुरज केसी सदस्य रहेको विधान संशोधन समिति बनाइएको छ ।
अधिवेशन व्यवस्थापनको जिम्मेवारी ट्रस्टी रोमनाथ पाण्डेको संयोजकत्वमा सात सदस्यीय व्यवस्थापन समितिलाई दिइएको छ ।अध्यक्ष पाण्डेले मन्दिरमा विगतमा जस्तै यसपटक पनि सर्वसम्मतिमै नयाँ कार्यसमिति चयन गर्न प्रयास गरिने बताए । मन्दिर समितिले अधिवेशनमा सहभागी हुन सबै ट्रस्टी, आजीवन सदस्य एवम् शुभेच्छुकहरुलाई आव्हान गरेको छ ।






