काठमाडौँ २८ अगस्ट २०२३ । स्वायत्त ताम्सालिङ प्रदेश निर्माणको उद्देश्यसहित ‘ताम्सालिङ संयुक्त संघर्ष समिति नेपाल’ घोषणा गरिएको छ । धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा आइतबार आयोजित एक समारोहमा पूर्वराजदूत गणेश योञ्जनको अध्यक्षतामा संघर्ष समिति घोषणा गरिएको हो ।
पुनर्गठित समितिको सदस्य सचिवमा मोहन गोले तामाङ, प्रवक्ता जय गोले तामाङ र सदस्यहरुमा विभिन्न पार्टी निकट भ्रातृ संगठन, सामाजिक संघसंस्था र स्वतन्त्र अभियन्ताहरु रहने अवधारणापत्रमा उल्लेख छ । यसअघि संघर्ष समितिमा जय गोले संयोजक थिए । संघर्ष समितिमा नेपाल तामाङ संघ, तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपाल तामाङ संघ (समाजवादी)लगायत २४ वटा संघसंस्था आबद्ध छन् ।

संघर्ष समितिले पहिलो संविधानसभा र त्यसले बनाएको उच्चस्तरीय राज्य पुनर्संरचना आयोगले दिएको पहिचानजनित १० प्लस एक प्रदेशहरूको सिफारिसअनुसार आत्मनिर्णयको अधिकारसहितको ताम्सालिङ स्वायत्त प्रदेश घोषणा गर्नुपर्ने, संविधानबमोजिम ताम्सालिङलगायत देशभित्रका समस्त अल्पसंख्यामा रहेका आदिवासी जनजातिहरूका स्वायत्त, संरक्षित र विशेष क्षेत्र तुरून्त लागू गर्नुपर्ने, तामाङलगायत सबै आदिवासी जनजातिविरोधी संवैधानिक प्रावधान एवं विभेदकारी ऐन, कानुनहरू तत्काल खारेज गर्नुपर्ने, कानुन निर्माण गर्दा आदिवासी जनजातिको समावेशिता सुनिश्चित गर्नुपर्ने, सबै मातृभाषा र लिपिहरूलाई सरकारी कामकाजी भाषाको मान्यता दिनुपर्ने, आदिवासी जनजाति अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र र आइएलओ महासन्धि १६९ तुरुन्त कार्यान्वयन गर्नुपर्नेलगायत २५ बुँदे माग समेत अघि सारेको छ ।
ती माग पूरा गराउनका लागि जागरण तथा दबाबमूलक अभियान, शान्तिपूर्ण अवज्ञा र विरोध कार्यक्रम लगायत संघर्षका कार्यक्रमसमेत गरिने जनाइएको छ ।
कार्यक्रममा समाजशास्त्री मुक्तसिंह तामाङले ताम्सालिङ संयुक्त संघर्ष समिति नेपालको ६ पृष्ठको अवधारणापत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न दलका नेता, संघ संस्थाका अध्यक्ष, प्रतिनिधि तथा विभिन्न अगुवाहरुले ऐक्यबद्धता व्यक्त गर्नुका साथै शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम समापनका क्रममा ताम्सालिङ संघर्ष समिति नेपालका अध्यक्ष एवं पूर्वराजदूत गणेश योञ्जनले स्वायत्त ताम्सालिङ प्रदेश नपाएसम्म लडाइँ लड्ने उद्घोष गरे । योञ्जनले उद्देश्य प्राप्त नभएसम्म लड्ने प्रतिबद्धता जनाउँदै साथ र सहयोग दिन अपिल गरेका थिए ।






