काठमाडौँ — इण्डोनेसियामा जारी १८औँ एसियन गेम्सअन्तर्गत बिहीबार भएको खेलमा नेपाल भियतनामसँग २–० ले पराजित भएको छ ।
स्थानीय विभाहा मुक्ति रङ्गशालामा बिहीबार साँझ सम्पन्न खेलमा भियतनामका लागि एन न्युजेमले खेलको ३०औँ मिनटेमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै ६२औँ मिनेटमा भान डक फानले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा दुवैतर्फबाट गोल भएन र खेल भियतनामले जत्यो ।
पहिलो खेलमा नेपाल गत मङ्गलबार जापानसँग १–० ले पराजित भएको थियो । समूह ‘डी’ मा रहेको नेपालले समूहचरणको अन्तिम खेल आगामी आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको छ । यस प्रतियोगिताको औपचारिक उद्घाटन भने भदौ २ गते हुँदैछ ।
यसैबीच साफ यू -१५ गर्ल्स च्याम्पियनसिपको सेमिफाइनलमा भारतले नेपाललाई २-१ ले पराजित गरेको छ । भारतले ३१ औं मिनेटमा लिन्डा कोमको गोलमा सुरुआती अग्रता बनाएको थियो ।
त्यसको ६ मिनेट नबित्दै रजनी ठोकरले नेपालका लागि बराबरी गोल फर्काइन् ।
भारतका लागि ५८ औं मिनेटमा क्रितिना देवीले गोल गर्दै पुनस् अग्रता दिलाइन् । नेपालले अब शनिबार तेस्रो स्थानको खेलमा दोस्रो सेमिफाइनलमा पराजित हुने टोलीसँग खेल्नेछ ।






