काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएलगत्तै फेरि पक्राउ परेका छन् । रिहा गर्न आदेश दिए लगत्तै उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

‘केही महिनाअघि काभ्रेमा एनसेल टावरमा भएको आगजनीको घटनामा उनलाई फेरि पक्राउ गरिएको हो’, परिसरका डिएसपी मोहन थापाले भने । यसअघि प्रकाण्डका छोरा नरेन्द्रबहादुरले उनलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । जसको सुनुवार्इ गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको थियो ।
चन्दा असुली गरेको आरोपमा प्रकाण्डलार्इ नेपाल प्रहरीको विशेष ब्यूरोले २२ साउनमा पक्राउ गरेको थियो ।
थुनामुक्त गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई थुनामुक्त गर्न आदेश जारी गरेको छ ।
न्यायाधीश चोलेन्द्र शम्शेर राणा र तेजबहादुर केसीको संयुक्त इजलाशले शुक्रबार सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराई र नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा छाड्न आदेश दिएको हो ।
आदेशमा भनिएको छ, “गैरकानूनीरुपमा थुनामा रहेको देखिँदा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराई र नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा छाडी सोको निस्सा मिसिल सामेल राख्नु ।”
विश्वकर्माका छोरा नरेन्द्रबहादुर सिंह विकले गैरकानूनीरुपमा थुनामा राखेको उल्लेख गर्दै सर्वोच्च अदालतमा आइतबार बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए । कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले आइतबार नै ४८ घण्टाभित्र बन्दीसहित लिखित जवाफ दिन सरकारलाई निर्देशन दिएको थियो ।
विश्वकर्मालाई व्यापारीसँग रु सात करोड चन्दा असुली गरेको आरोपमा चन्दा ऐन २०३० अनुसार काठमाडौँ प्रहरीले कारवाही अघि बढाएको थियो ।






