जेनेभा, स्वीट्जरल्याण्ड । राष्ट्रसङ्घका पूर्वमहासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको शनिबार बिहान निधन भएको छ । उनी ८० वर्षका थिए ।
घानामा जन्मेका अन्नान पछिल्लो समय स्वीट्जरल्याण्डमा बसोबास गर्दै आएका अन्नानले सन् ११९७ देखि २००६ सम्म राष्ट्रसङ्घको प्रमुखका रूपमा दुई कार्यकाललाई सफलतापूर्वक पूरा गरेका थिए । संयुक्त राष्ट्रसंघका भूतपूर्व महासचिव कोफी अन्नानको स्वीट्जरल्याण्डको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
राष्ट्रसङ्घका पूर्वमहासचिव अन्नानको निधनबारे उनको परिवारले पुष्टि गर्दै भनेको छ, अन्नानले विश्वव्यापी राजनेताको छवि बनाएर आफ्नो देहत्याग गरेका छन् ।
उनले जीवनभर मानव समानता तथा शान्तिपूर्ण विश्वका लागि कटिबद्ध रहेर मृत्युपर्यन्त काम गरेका थिए ।
संयुक्त राष्ट्रसंघको सबैभन्दा उच्च पदमा पुग्ने अन्नान पहिलो अश्वेत अफ्रिकी नागरिक थिए । सन् २००१ मा अन्नानलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो ।






