१८ औं एसियाली खेलकुदः तेक्वान्दोको पदकविहीन ह्याट्रिक यात्रा

SHARE:

जकार्ता, इन्डोनेसिया — एसियाली खेलकुदमा लगातार तेस्रोपल्ट नेपाली तेक्वान्दो पदकविहीन भएर फर्कने भएको छ । १८ औं संस्करण जारी रहँदा बिहीबार दुई नेपाली खेलाडीको खेलसँगै तेक्वान्दोको इन्डोनेसिया यात्रा सकिएको छ । एसियाली खेलकुदमा गौरवशाली इतिहास बनाएको तेक्वान्दोका खेलाडीले पछिल्ला तीन संस्करणमा पदक जित्न सकेनन् ।

सन् २०१० को ग्वाङझाउ र २०१० को इन्चोन एसियाडबाट पनि रित्तो हात फर्केको थियो। एसियाडमा नेपाली तेक्वान्दोले एक रजत र १३ कांस्यपदक जितेको इतिहास छ।

जकार्ता एसियाडको पाँचौं दिन सकिँदासम्म नेपाल पदकको छेउसम्म पुग्न सकेको छैन। पदक आस गरिएको उसु पनि पदकविहीन भएर फर्केको छ। एसियाडमा उसुले एउटै पदक जितेको छैन। नेपालले तेक्वान्दोका १४ र उसुका १० खेलाडीलाई एसियाडमा उतारेको थियो। १ सय ८५ खेलाडीको जम्बो टोली एसियाडमा उतारेको नेपालको आस अब जुडो, बक्सिङ र कुराँस खेलमा मात्र बाँकी छ।

दक्षिण एसियाली राष्ट्र भारत र अफगानिस्तानले पदकको खाता खोलिसकेका छन्। अफगानले उसुबाट एक कांस्य जित्दा भारतले सुटिङ, कुस्ती, सेपाकटाक्रो, टेनिस र उसुबाट पदक भित्र्याएको छ। ४ स्वर्णसहित १६ पदक जितेको भारतले सुटिङबाट सबैभन्दा बढी ७ पदक जितेको छ। पदक तालिकामा चीन, जापान र दक्षिण कोरियाको प्रभुत्व हुँदा आयोजक इन्डोनेसिया ७ स्वर्ण जित्दै पाँचौं स्थानमा छ।

बिहीबार तेक्वान्दोको ६८ केजीमुनि ज्ञानेन्द्र हमालले एउटा खेल जितेका थिए। अर्को खेलमा नराम्ररी पराजित हुन पुगे। अन्तिम १६ को पहिलो खेलमा ज्ञानेन्द्र भुटानका जिग्मे वाङचुकलाई ३९–१७ अंकले हराउँदै अन्तिम १६ मा पुगेका थिए। उनले पहिलो राउन्डमै भुटानीविरुद्ध चार ह्याम्मर किक हाने र १५९११ को अग्रता बनाए।

पछिल्लो दुई राउन्डमा उनले विपक्षीलाई खासै मौका दिएनन् र खेल आफ्नो पक्षमा पारे। उनलाई क्वाटरफाइनल पुग्नका लागि भने मलेसियाका रोजाली रोजामी बाधक बने। साउथ इस्ट एसियन गेम्सका स्वर्ण तथा एसियन इन्डोर तथा मार्सल आर्टका रजत विजेता रोजालीले ज्ञानेन्द्रलाई ३०-२ को फराकिलो अंकमा हराए। आसियन च्याम्पियनसिपका वेस्ट फाइटर रोजालीले उचाइको फाइदा लिँदै तेस्रो राउन्डअगाडि नै खेल जितेका थिए ।

महिला ४९ केजीमुनि तौल समूहमा अस्मिता खडका पनि इरानी प्रतिद्वन्द्वीसामु निरीह बनिन्। विश्व वरीयताको ३५ औं वरीयतामा रहेकी निहादले २८४ औं वरीयताकी खेलाडी अस्मितालाई पहिलो राउन्डमै ६ हयाम्मर किक हानेर खेललाई आफ्नो पक्षमा पारिन्। निहाद एसियन च्याम्पियनसिपमा पदक जितिसकेकी खेलाडी हुन् भने अस्मिताको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो।

प्रशिक्षक दीपक विष्टले बिहीबारको खेलबारे भने, ‘भुटानसँगको पहिलो खेलमा ज्ञानेन्द्रले जसरी खेलेका थिए, त्यसरी दोस्रो खेल खेल्न सकेनन्। पहिलोमा उनी थोरै घाइते थिए। त्यसले गर्दा पनि उनले खुलेर खेल्न सकेनन्। मलेसियाली प्रतिद्वन्द्वी अन्तर्राष्ट्रिय अनुभवी र पदकविजेता खेलाडी हुन्। उनले उचाइको एडभान्टेज लिए।’

नेपालले पदक आस गरेका तेक्वान्दो र उसु दुवैको प्रतिस्पर्धा सकिएको छ। दुवै खेल पदकविहीन बने।

पौडी

राष्ट्रिय कीर्तिमानधारी शिरीष गुरुङले पनि जारी एसियाडमा आफ्नो एउटै कीर्तिमान सुधार्न सकेनन्। बिहीबार पुरुष १०० फ्रिस्टाइल प्रतिस्पर्धा गरेका उनले ५७।९२ सेकेन्डमा दूरी पार गरे। जबकि उनी रियो ओलम्पिकमा आफैंले बनाएको कीर्तिमान सुधार्न असफल रहे। उनले सन् २०१६ मा रियो द जेनेरियोको पोखरीमा ५७।७६ सेकेन्डको कीर्तिमान बनाएका थिए ।

आफ्नो हिटमा पुछारमा रहेका शिरीष समग्रमा ४७ खेलाडीमध्ये ४० औं स्थानमा थिए। शिरीषले दुई दिनअघि २० मिटर फ्रिस्टाइलमा पनि गतिलो प्रदर्शन गर्न सकेनन्। इन्चोन एसियाडमा समेत सहभागिता जनाएका शिरीषको यहाँ इभेन्ट सकिएको छ।

अर्की पौडीवाज टिसा शाक्यले महिला ५० मिटर ब्रेस्टस्ट्रोकको दूरी ३९.४६ सेकेन्डमा पार गरिन्। १०० मिटर फ्रिस्टाइलमा आफ्नो प्रदर्शन सुधारेकी टिसाले शुक्रबार ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन्।

हिट चरणमा ३० खेलाडीले प्रतिस्पर्धा गर्दा उनी २६ औं स्थानमा थिइन्। ३२.३४ सेकेन्डमा दूरी पार गर्ने फाइनल चरणलाई छानिएका थिए।

भारोत्तोलन

एसियाडको भारोत्तोलनमा नेपाली खेलाडीले राष्ट्रिय कीर्तिमान बनाउने क्रमलाई विकास थापाले पनि निरन्तरता दिन सकेनन् । उनले पुरुष ७७ केजीमुनि तौलमा स्न्याचमा १ सय १३ केजी र क्लिन एन्ड जर्कमा १ सय ३५ केजीसहित कुल २ सय ४८ केजी तौल उठाए। यसअघि पनि विकासको व्यक्तिगत स्कोर त्यति नै थियो । स्न्याचमा १ सय १८ केजीका लागि प्रयास गर्दा दुवै लिफ्टमा असफल भए । समग्रमा उनी पाँचौं स्थानमा रहे। विकास १२ औं दक्षिण एसियाली खेलकुदका रजत विजेता हुन् ।

यस तौल समूहमा कमलबहादुर अधिकारीको नाममा स्न्याचमा १ सय २२ र क्लिन एन्ड जर्कमा १ सय ६२ केजीको राष्ट्रिय कीर्तिमान छ । कमलले भने यसपल्ट तौल घटाएर ६९ केजीमुनि प्रतिस्पर्धा गरेका थिए । अघिल्लो दिन कमलले त्यसमा तीनवटा कीर्तिमान बनाए ।

चार खेलाडी सहभागी रहेको भारोत्तोलनमा अब तारादेवी पुनको खेल बाँकी छ ।

कबड्डी

नेपाली टोली बिहीबार पाकिस्तानसँग ३८-२० अंकले पराजित भयो। समूह ‘बी’ मा पाँच टोली रहेकोमा नेपालले एक खेलमात्र जित्यो। नेपालले अघिल्लो दिन मलेसियालाई हराएको थियो । नेपाल आयोजक इन्डोनेसिया, जापान र इरानसँग पराजित भयो ।

सबै टोलीसँग प्रतिस्पर्धात्मक खेलेको नेपाली कबड्डी २४ वर्षपछि एसियाड खेल्न जकार्ता आइपुगेको थियो । नेपालले यसअघि दुई एसियाडमा कबड्डीलाई सहभागी गराएको थियो । सन् १९९० को बेइजिङमा चौथो र १९९४ को हिरोसिमा एसियाडमा पाँचौं स्थानमा रहँदै फर्केको थियो ।
यसपल्ट पनि वरीयता सुधार्ने लक्ष्यमा मात्र नेपाली टोली जकार्ता आएको थियो ।

पेनकेक सिलात

पेनकेकमा प्रतिस्पर्धी रहेका एक्लो नेपाली खेलाडी विवेककुमार विक पनि पहिलो खेलमै पराजित भए। बिहीबार अन्तिम १६ को ६० देखि ६५ केजीबीच तौल समूहमा प्रतिस्पर्धा गरेका विवेककुमारले इरानका मोहम्मद रहिमिबल्लाहदेजाइसँग हार बेहोरे । उनी ५(० अंकले पराजित भए । पेनकेक इन्डोनेसियाको परम्परागत मार्सल आर्टस हो। यसमा पनि पञ्च, किकबाट अंक लिइन्छ। एसियाली खेलकुदमा पनि यसले पहिलोपल्ट प्रवेश पाएको थियो ।

आर्चरी

जीबीके आर्चरी फिल्डमा बिहीबार तीन नेपाली खेलाडीले रिकर्भको एकल इभेन्टमा प्रतिस्पर्धा गरेका थिए। पुरुषतर्फ तिलक पुन मगरले पहिलो खेलमा भुटानका निमा वाङीलाई हराएर राम्रो सुरुआत गरे । तिलकले ६(० स्कोरले खेल जितेका थिए। अन्तिम १६ को खेलमा उनी चीनका तियान्सु जुसँग ६-४ को अन्तरमा हारे।

त्यस्तै रोशन नगरकोटी श्रीलंकन खेलाडी सञ्जीव डी सिल्भासँग ६-० को स्कोरमा पराजित भए ।

महिला रिकर्भको अन्तिम ३२ को खेलमा नेपालकी ज्ञानु अवाले हङकङकी सुक चिङ लामसँग ६-२ ले हारिन् ।

नेपालले शनिबार पुरुष रिकर्भ टिममा कतारसँग खेल्नेछ । नेपाली टोलीमा तिलक, असिम शेरचन र रोशन नगरकोटी छन् ।

आर्चरीका प्रशिक्षक रमेश सिवाकोटीले चिनियाँ खेलाडीसँग तिलकले त्यत्तिको खेल्नु राम्रो भए पनि ज्ञानु र रोशनले भने बिगारेको बताए ।

पाराग्लाइडिङ

पुरुष व्यक्तिगत एकुरेसीमा आयोजक राष्ट्रका जाफ्रो मेगावान्टाले स्वर्ण जित्दा नेपालका विजय गौतमले आठौं स्थानमा रहेर खेल टुंग्याए । ३३ खेलाडीले प्रतिस्पर्धा गर्दा नेपालका सुशील गुरुङ २४ औं स्थानमा रहे । यो १० राउन्डसम्म चलेको थियो ।

सोही इभेन्टको महिलातर्फ नेपालका त्रिशा श्रेष्ठ बोम्जन १४ र प्रतिभा भुजेल १५ औं स्थानमा रहन सफल भए । यसमा आयोजकको स्वर्ण जित्ने आसलाई असफल पार्दै थाई खेलाडी नुनापातले स्वर्ण जितिन् । दक्षिण कोरियाकी ली दाले रजत जित्दा आयोजककी रिकाको पोल्टमा कांस्यपदक परेको थियो ।

स्क्वास

नेपाली खेलाडीद्वय अरहान्तकेशर सिंह र अमृत थापामगर दुवै पहिलो खेलमै पराजित भए । बिहीबार जीबीकेको स्क्वास स्टेडियममा पुरुष एकलको अन्तिम १६ खेलमा अरहान्त पाकिस्तानका तैयव अस्लामसँग ११-६, ११-५, ११-५ ले हारे । पाकिस्तानीले सोझो सेटमा ३-० ले खेल जित्दा १८ मिनेटमात्र लगाए ।

अर्को खेलमा अमृत भने हङकङका हो यिन लीसँग ११-१, ११-४, ११-२ ले पराजित भए । उनीहरूले डबल्समा प्रतिस्पर्धा गर्नेछन् ।

स्पोर्टस क्लाइम्बिङ

मेन्स स्पिड क्लालिफिकेसन राउन्डमा प्रतिस्पर्धा गरेका पेम्बा शेर्पा र प्रनिलमान श्रेष्ठ पुछारको दुई स्थानमा रहे । २७ खेलाडीको सहभागितामा १६ खेलाडी दोस्रो चरणलाई छानिए । पेम्बाले १२.०० सेकेन्ड र प्रनिलले १२.२६ सेकेन्डमा चढेका थिए ।

क्वाइन्ड क्वालिफिकेसनमा प्रनिल २१ र पेम्बा २२ औं स्थानमा रहेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!