खोकीबाट राहत पाउन सबैभन्दा पहिले महको प्रयोग उपयुक्त हुने स्वास्थ्य विद्हरुले नयँ अध्ययनपछि सुझाव दिएका छन् । यस्तो समस्यामा चिकित्सकहरुले कमै स्थितिमा मात्र एन्टिबायोटिक्स प्रयोग गर्न लगाउनु पर्ने बताइएको छ किनकी एन्टिबायोटिक्सले यसको लक्षणलाई थोरै मात्र कम गर्न सक्ने बताइन्छ ।
अधिकांश मानिसहरुको खोकी दुई देखि तीन हप्ता भित्र आफै पनि निको हुने गर्दछ । त्यसकारण पनि चिकित्सकहरुले एन्टिबायोटिक प्रतिरोधको समस्यालाई कम गर्न यस्तो सुझाव दिएका हुन् । वास्तवमा एन्टिबायोटिक्सको अत्याधिक प्रयोगले किटाणुहरुलाई बलियो र औषधि निरोधक बनाइदिने गर्दछ जसकारण सामान्य संक्रमणको उपचार गर्न समेत कठिन हुने गरेको छ । यस्तोमा महका साथै अदुवा र कागती हालि तातो पानी पिउनाले घाँटी दुखेको र खोकीको असर धेरै कम हुन्छ । यसकारण पनि चिकित्सकहरुले पछिल्लो समय सामान्य बिरामीलाई औषधिको कम प्रयोग गर्न प्रोत्साहित गरिरहेको बताइन्छ । बुधबार मात्र ‘नेसनल इन्स्च्युट फर हेल्थ एण्ड केयर एक्सिलेन्स’ र ‘पब्लिक हेल्थ इन्ङल्यान्ड’ ले यसबारे औपचारिक जानकारी दिएका हुन् । उनीहरुका अनुसार घरेलु उपायले खोकीका लक्षण चँडै ठीक गर्न सक्नेबारे सीमित प्रमाण मात्र भएपनि लामो समयसम्म स्वस्थ रहन यो उपाय सबैभन्दा प्रभावकारी हुनेछ । त्यसैले अहिले खोकीका सबै बिरामीलाई यिनै तरिका अपनाइ समस्या आफैँ ठीक हुन दिन सुझाव दिइएको बताइएको छ ।
तरपनि गम्भीर र दिर्घकालीन रोग भएका बिरामीले भने थप समस्या आउन नदिन एन्टिबायोटिकको प्रयोग गर्नु नै उचित हुने उनीहरुको भनाइ छ । त्यस्तै एक वर्ष भन्दा मुनिका बालबालिकाका लागि पनि मह उपयुक्त नहुने बताइएको छ किनकी त्यसमा हुने राम्रो ब्याक्टेरियाले बच्चाहरुमा बोटुलिजम नामक रोग उत्पन्न गराउने खतरा हुन्छ । वास्तवमा खोकीको प्रमुख कारण भाइरस हो जुन एन्टिबायोटिक्सले नभएर आफैँ हट्ने गर्छ । यस्तोमा अहिले सामान्य बिरामीमा पनि औषधि निरोधक भाइसहरु विकास भइरहेको हुदा त्यसले विश्वभरको चिकित्सा क्षेत्रमा ठूलो चुनौति खडा गराइरहेको छ । बिस्तारै देखा पर्दै गइरहेका एन्टिबायोटिक प्रतिरोधक किटाणुहरुले सामान्य संक्रमणलाई पनि उपचार गर्न नमिल्ने बनाइदिएपछि त्यसले सामान्य क्यान्सरको उपचार र प्रत्यारोपण जस्ता प्रक्रियालाई समेत धेरै जोखिमयुक्त बनाइरहेको बताइएको छ ।






