लन्डन । नेपाली लोक तथा मौलिक गीत–संगीतमार्फत दर्शक–श्रोताको मन जित्दै आएकी गायिका कुमारी चेपाङको सम्मानमा बेलायतमा ‘फेयरवेल विथ सिंगर कुमारी चेपाङ’ सांगीतिक साँझ आयोजना हुने भएको छ।
आगामी नोभेम्बर १३ तारिख शुक्रबार बेलायतको अल्डरसटस्थित ठमेल दोहोरी रमा आयोजना हुने उक्त कार्यक्रम साँझ ७ बजेदेखि सुरु हुनेछ।
नेपाली कला, संस्कृति र मौलिक संगीतलाई प्रवासमा समेत जीवन्त राख्ने उद्देश्यसहित आयोजना हुन लागेको यस सांगीतिक साँझमा गायिका चेपाङका गीत–संगीतमार्फत नेपालीपनको मिठास साटासाट गरिने अपेक्षा गरिएको छ।
नेपाली समुदायको बाक्लो उपस्थिति रहने बेलायतमा यस्ता कार्यक्रमले नेपाली गीत–संगीतको प्रवर्द्धन गर्नुका साथै कलाकार र नेपाली समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
कार्यक्रममा सहभागी भएर गायिका कुमारी चेपाङलाई शुभकामना तथा बिदाइ गर्न बेलायतवासी नेपाली संगीतप्रेमीहरूलाई आयोजकले आग्रह गरेका छन्।






