लन्डन । बेलायतमा बोएलो आँधीका कारण आइतबार रुख ढलेर दुई जनाको मृत्यु भएको छ । आँधीसँगै आएको खराब मौसमका कारण देशभरका ९० हजारभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
उत्तरी लन्डनमा रुख खसेर गुडिरहेको कारमा लाग्दा २० वर्षीय एक युवकको मृत्यु भएको बीबीसीले जनाएको छ । फिन्च्लीस्थित डोलिस रोडमा आइतबार स्थानीय समयअनुसार दिउँसो १२:४० बजे रुख कारमाथि खसेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो । युवकलाई घटनास्थलमै मृत घोषणा गरिएको मेट्रोपोलिटन प्रहरीले जनाएको छ ।
यसअघि स्कटल्यान्डको डम्फ्री एन्ड ग्यालोवे क्षेत्रमा रुख ढलेर लाग्दा ६० वर्षीय एक पुरुषको मृत्यु भएको थियो ।
नर्थ वेस्ट कमान्ड युनिटका प्रमुख निरीक्षक गाइ एलवुडले घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएका युवकका परिवार तथा आफन्तप्रति समवेदना प्रकट गरेका छन् ।
ऊर्जा सञ्जाल सङ्घ (ईएनए) का अनुसार आइतबार बेलुका ७ बजेसम्म बेलायतका ९० हजारभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको थियो । खराब मौसमका कारण विद्युत् मर्मतमा खटिने प्राविधिकहरूले सुरक्षित रूपमा काम सुरु गर्न कठिनाइ भोग्नुपरेको सङ्घले जनाएको छ ।
आँधी र वर्षाका कारण स्कटल्यान्डका विभिन्न सडकमा बाढी आएको छ । डम्बार्टनस्थित डम्बक क्वारी क्षेत्रमा ए८२ सडकको ठूलो भाग पानीले ढाकिएको जनाइएको छ ।






