
काठमाडौं २८ मार्च २०२४ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनको शिष्टाचार भेट भएको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालय बिहीबार २८ मार्चमा गृहमन्त्री लामिछाने र राजदूत फेनबीच भेट भएको लामिछानेको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार राजदूत फेनले गृहमन्त्री लामिछानेलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
गृहमन्त्री लामिछानेले एकसय वर्षभन्दा बढीको घनिष्ट सम्बन्धमा बेलायतले नेपालको पूर्वाधार विकास, सामाजिक उत्थान, सरकारी तथा गैर सरकारी निकायको क्षमता अभिवृद्धि, विपद् व्यवस्थापन, गोर्खा सैनिक भर्नालगायत विषयमा गरेको सहयोग, सहकार्य र समन्वयका लागि आभार व्यक्त गरेका थिए ।
लोकतन्त्रको सुदृढीकरण, जलवायु परिवर्तन अनुकुलन, सामाजिक समावेशीकरण, सामाजिक विभेद र बञ्चितीकरण न्यूनिकरणमा समेत बेलायत सरकारसँग थप समन्वय र सहकार्यको अपेक्षासमेत गृहमन्त्री लामिछानेले व्यक्त गरेका थिए । जाजरकोट भूकम्पको पुनःनिर्माणमा बेलायत सरकारले अनुदान उपलब्ध गराउने र नेपालको विकास निर्माण साझेदारीताका लागि नयाँ योजना ल्याउने क्रममा रहेको राजदूत फेनले गृहमन्त्रीलाई जानकारी दिएका थिए ।
गोर्खा सैनिकले गरेको योगदान स्मरण गरेर बेलायत सरकारले तिनले उठाउँदै आएका मुद्दा न्यायोचित रुपमा सम्बोधन गर्नेमा आफू विश्वस्त रहेको गृहमन्त्री लामिछानेको भनाइ थियो ।
विकासमा साझेदारी अनन्तकालसम्म रहने अपेक्षा गर्दै राजदूत फेनले आफ्नो आग्रहलाई स्वीकार गरी शिष्टाचार भेट दिएकोमा गृहमन्त्रीलाई धन्यवाद व्यक्त गरेका सचिवालयले प्रेस नोटमार्फत जनाएको छ ।






