नयाँ दिल्ली ९ अप्रिल २०२४ । उत्तरी भारतमा पिकअप भ्यान सडकबाट चिप्लिएर १५० मिटर गहिरो खाल्डोमा खस्दा सात नेपाली नागरिक र एक स्थानीय चालकको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ । दुर्घटनामा परी थप दुई नेपाली गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार विपद् व्यवस्थापन बलको एक टोली घटनास्थलमा पुगी स्थानीय र प्रहरीको सहयोगमा खाल्डोबाट मृतकहरूलाई निकालेको र उद्धार टोलीले घाइतेलाई अस्पताल पुर्याएको छ ।
धार्मिक पर्यटकलाई घर लैजान नेपालतर्फ जाँदै गरेको उक्त गाडी दुर्घटना भएको हो । दुर्घटनाको कारणबारे प्रहरी अनुसन्धान गर्न आदेश दिएको छ ।
भारतमा अत्यधिक भार वहन, सडकको कमजोर अवस्था र चालकको लापरबाहीका कारण हुने सडक दुर्घटनाबाट बर्षेनी हजारौँ व्यक्तिको अकालमा मृत्यु हुने गरेको छ ।। भारतमा हरेक वर्ष सरदर करिब एक लाख ५० हजार मानिसको मृत्यु हुने गरेको छ ।






