
लन्डन ११ अप्रिल २०२४ । दुवै गोडा गुमाएका आरोही बेलायत निवासी पूर्वगोर्खा सैनिक हरिबहादुर बुढामगरले गिनिज वर्ल्ड रेकर्ड प्रमाणपत्र पाएका छन् । उनले बुधबार लन्डनस्थित गिनिज वर्ल्ड रेकर्डको मुख्य कार्यालयबाट प्रमाणपत्र प्राप्त गरेको सामाजिक सन्जालमा जानकारी दिएका छन् । बुढामगर र प्रीत चन्डीले एकैदिन प्रमाणपत्र थापेका थिए ।
बुढामगरलाई गोडा गुमाएका व्यक्तिहरुमा सबैभन्दा पहिले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकोमा दिइएको हो । बुढामगरले गत वर्ष मे १९ मा सगरमाथाको सफल आरोहण गरेका थिए । आफूले विभिन्न विधामा १० वटा विश्व रेकर्ड कायम गरेको भए पनि एउटा मात्र दाबी गरेको र सो ऐतिहासिक प्रमाणपत्र घरमा राख्दा शोभायमान हुने पनि बुढामगरले बताएका छन् ।
उनले प्रमाणपत्रका लागि आफ्नो कन्क्वेरिङ ड्रिम्स एभरेष्ट एक्सपीडिसन यात्रामा सघाउने सबैलाई हकदार मानेका छन् । यो यात्रा सजिलो नभए पनि नत्यागेको र सबैको सहयोगले सफल भएको र सँगै इतिहास निर्माण गर्न सकिएको उनले बताएका छन् ।
रोल्पामा जन्मिएका बुढामगरले बेलायती सैनिकमा कार्यरत रहँदा अफगानिस्तानमा विस्फोटमा परी घुँडाभन्दा माथिका दुवै गोडा गुमाउनु परेको थियो । बुढामगर अहिले अपांगता भएका मानिसहरुमाथिको समाजको दृष्टिकोण परिवर्तन लगायतका सामाजिक सेवामा सक्रिय छन् ।






