
लन्डन २९ मे २०२४ । गोर्खा पिस फाउन्डेसनको आयोजनामा आउँदो जून २ तारिख आइतबार गोर्खा यात्रा (गोर्खा वाक) हुने भएको छ ।
विगतका वर्षहरुमा जस्तै फाउन्डेसनले ग्रेट चार्ट प्लेइङ फिल्ड, आसफोर्ड, केन्टमा दौड गर्न लागेको हो । दौड ६ किलोमिटर र १३ किलोमिटरको हुनेछ । १३ जना भिक्टोरिया क्रस विजेता गोर्खा वीरहरूको सम्झनामा १३ किलोमिटरको यात्रा तय गरिएको हो ।
वाकमा बेलायतमा बसोबास गर्ने नेपाली समुदाय, विशेषगरी गोर्खा परिवारहरू ठूलो उत्साहका साथ सहभागी हुँदै आएका छन् । गोर्खा वाकले नेपाली समुदायलाई मात्र नभई स्थानीय बेलायती समुदायलाई पनि एकतामा बाँध्ने माध्यमको काम गरेको आयोजकले जनाएको छ । विगत ११ वर्षदेखि हरेक वर्ष हुँदै आएको यो कार्यक्रमले समाजमा मित्रता र सहयोगको भावना बढाएको आयोजकको भनाइ छ ।
वाकबाट उठेको सहयोग परोपकारी संस्था गोर्खा पिस फाउण्डेसनमा जानेछ ।






