काठमाडौँ १४ जुन २०२४ । नेपालका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा सुधार आएको र थप सुधारका लागि प्राविधिकसहितको समिति बनाएर अध्ययन गरिरहेको बताएका छन् ।
विमानस्थल अध्यागमन कार्यालयको आज निरीक्षण अनुगमन गर्नु हुँदै उनले अध्यागमनको सेवा सुधारका लागि विगत एक दशकदेखि नै आफ्नो चासो रहेको बताए । उनले भने, “अध्यागमनमा सुधार भएको छ । थप सुधारका लागि प्राविधिकसहितको समिति बनाएर अध्ययन गरिरहेको छौँ, समितिले तीन महिनामा आफ्नो प्रतिवेदन दिने छ र अध्यागमनमा थप सुधार गर्न मद्दत गर्ने छ ।”
यसैगरी उनले गृह मन्त्रालय नेतृत्वको पटक–पटकको अनुुगमन र निर्देशनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा सुधारका सङ्केतहरु देखा पर्न थालेका दाबी गरे । उनले भने, “नेपालमा पछिल्लो समय हुँदै गरेको परिवर्तनको आभास अध्यागमनबाटै पाएको छु, अध्यागमन देशको प्रवेशद्वार भएकाले परिर्वतनको आवास पनि द्वारबाटै दिन खोजिएको हो ।” यसैगरी उनले आफूले कार्यभार ग्रहण गरेको आज एक सय दिनको अवधिमा अध्यागमनमा आएको परिर्वतनले आफूलाई खुसी बनाएको बताए । उनले भने, “मैले मन्त्रालय सम्हालेको एक सय दिन पुुगेको अवसर पारेर एक सय दिनको सुरुवात यहीँबाट गर्न म अध्यागमन आएको हुँ, तपाईंहरुलाई उत्साह मिलोस् भन्नका लागि म यहाँ आएको हो ।”
असल नियतले राम्रो काम गर्ने कर्मचारीलाई आफ्नो सधैँ साथ रहने उनको भनाइ छ ।






