
लन्डन २० जुन २०२४ । चितवन एड ट्रस्टले आगामी २८ जुलाईमा ‘FIRE WALK’तथा विविध सांस्कृतिक साँझ च्यारिटी आयोजना गर्दै छ ।
गरिब तथा जेहेनदार विद्यार्थीका लागि अक्षय कोष बढाउन च्यारिटी नाइट गर्न लागिएको क्याट युकेले जनाएको छ ।
आगोमा हिँडेर आफ्नो आत्मविश्वास बढाऊ, मैले गर्न सक्छु भन्ने आँट हिम्मत अनि उत्प्रेरणा पनि हुने साथै परोपकारी कार्य हुने विशेष कार्यक्रममा सहभागी हुन क्याट युकेले अनुरोध गरेको छ ।
‘यो कार्यक्रमको मुख्य उद्देश्य ‘गरिब तथा जेहेन्दार विद्यार्थीको लागि कोष बढाउने र सकारात्मक सोचको विकास गर्ने हो
। सकेसम्म उपस्थित भएर हामीलाई साथ् र हौसला दिनुहोला,’ कोर्डिनेटर कृष्ण गुरुङले भने, ‘विशेषस कारणले उपस्थित हुन नसक्ने अवस्थामा हजुरले जे जति सक्नुहुन्छ डोनेसन दिनुभई यस पुण्य कार्यमा सहभागी भइदिनु हुन हार्दिक अपिल गर्दछु ।’
कार्यक्रम ब्लु रुम स्पोर्ट्स भेन्यू ह्यारोमा बेलुकी १७:३० बजेदेखि हुनेछ । प्रवेश शुल्क ३५ मात्र तोकिएको छ । तर ५ वर्षमुनिका बालबालिकालाई भने नि:शुल्क भनिएको छ ।
संस्थाले स्थापना गरेको उक्त कोषमा हाल ६० लाख रुपैयाँ रहेको छ । उक्त च्यारिटी नाइट तथा कार्यक्रमबाट एक करोड पुर्याउने लक्ष्य रहेको संस्थाका ट्रस्टी तथा कार्यक्रम संयोजक कृष्ण गुरुङले जानकारी दिएका छन् ।
क्याटले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ । बेलायतमा बस्ने चितवनेलीहरूको साझा संस्थाका रूपमा सन् २००४ मा क्याट युकेको स्थापना भएको हो ।
चितवनको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउने मुख्य लक्ष्यसहित स्थापना भएको संस्थाले यसअघि जिल्लाका दुर्गम गाउँमा एम्बुलेन्स प्रदान, स्कुल तथा स्वास्थ्यचौकी निर्माण, भरतपुरमा ब्लड बैंक स्थापनालगायतमा सहयोग गरेको छ ।






