


काठमाडौं ७ जुलाई २०२४ । नेपालमा यस वर्षको बर्खा लागेसँगै बाढी र पहिरोले जनधनको क्षति बढ्दै छ । शनिबार ६ जुलाई २०२४ सम्मको तथ्यांक अनुसार विभिन्न जिल्लामा बाढी पहिरोमा परि तीन साताको अधविमा २९ जनाले ज्यान गुमाएका छन् ।
निरन्तरको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परी शनिबारमात्रै ९जनाको मृत्यु हुनुका साथै देशभरको जनजीवन प्रभावित भएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–६ स्याङ्दी माझकोटमा पहिरोले पुरिएर शनिबार बिहान एकै घरका तीन जनाको निधन भएको छ । पर्वतको फलेवास नगरपालिका–१ कार्कीनेटामा शनिबार नै आएको पहिरोले घर पुरिँदा दुई जना तथा तनहुँको ऋषिङ गाउँपालिका–१ झापुदारमा पनि पहिरोका कारण थप दुई जनाले ज्यान गुमाएका छन् । त्यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार दिउँसो गएको पहिरोमा परी थप एक जना तथा दाङको राजपुर गाउँपालिका–५ सालभौंरीस्थित गंगदी खोलामा बाढीले ट्र्याक्टर पल्टिँदा अर्का एक जनाको मृत्यु भएको हो ।
शुक्रबारदेखि परेको वर्षासँगै गएको पहिरोले पुरिएर काठमाडौंको नागार्जुन नगरपालिका–३ मा एक रेस्टुरेन्टको भान्साघर पुरिँदा गोरखा सहिद लखन थापा गाउँपालिका–६ का मनोज विकको मृत्यु भएको छ ।
यस्तै गण्डकी प्रदेशको तनहुँ, स्याङ्जा र पर्वतमा शनिबारमात्रै ८ जनाको निधन भएको छ । पहिरोमा पुरिएका दुई जना अझै बेपत्ता छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार दिउँसो गएको पहिरोले हिरा नेपाली र सुनमाया कुमालको घर सोहोर्दा ४० वर्षीया हिराको निधन भएको छ । दिउँसो बेपत्ता भएकी हिराको शव साँझ मात्रै फेला परेको थियो । छिमेकी ३७ वर्षीया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी अझै बेपत्ता छन् । पहिरोमा परेर ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीय रूपकुमार नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका छन् । बेपत्ताको खोजी भइरहेको गण्डकी प्रदेश प्रहरी प्रवक्ता एसएसपी रवीन्द्र रेग्मीले बताए । घाइतेको जीपी अस्पताल खैरेनीटारमा उपचार भइरहेको छ ।
शनिबार बिहान स्याङ्जाको बिरुवा गाउँपालिका–६ स्याङ्दी माझकोटमा पहिरोले पुरिएर एकै घरका तीन जनाको निधन भएको छ । पहिरोले २ कोठे घर पुरिँदा ६५ वर्षीया गुहेश्वरी शर्मा मरासिनी, ७१ वर्षीय माधव शर्मा र उनकी श्रीमती ६७ वर्षीया हरिमाया शर्माको निधन भएको हो । शनिबार दिउँसो पर्वतको फलेवास नगरपालिका–१ कार्कीनेटास्थित कुलप्रसाद पाध्यायको २ तले कच्ची घर पहिरोले पुरिँदा दुई जनाको निधन भएको छ । उक्त पहिरोमा परी बेपत्ता भएका कार्कीनेटाका ४० वर्षीय झलकप्रसाद शर्मा र स्याङ्जा आँधीखोला गाउँपालिका–३ पाखरीगोर ढुंगा बस्ने ३२ वर्षीय तुलसीप्रसाद शर्माको जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा मृत भेटिएका थिए । तुलसीप्रसादको शव घरभन्दा तीन सय मिटर तल र झलकप्रसादको शव स्याङ्जापट्टी आँधीखोला–४ सेपतमा फेला परेको थियो ।
पहिरोसँगै आएको ढुंगा लागेर तनहुँको ऋषिङ गाउँपालिका–१ झापुदारमा निर्माणाधीन तनहुँ हाइड्रोपावरको सुरुङ मार्गमा काम गरिरहेका ५० वर्षीय कृष्णबहादुर पुलामी र लमजुङ सुन्दरबजारका ५१ वर्षीय समलाल श्रेष्ठको निधन भएको छ । शनिबार नै पर्वतको महाशिला गाउँपालिका ठाडापाखामा पहिरोले गोठ र धन्सार बगाउँदा रुक्मागत अधिकारीको १३ बाख्रा, एउटा भैंसी र एक पाडो मरेको छ । स्थानीय केशवप्रसाद अधिकारी क्षेत्रीको २ तले कच्ची घर र गोठसमेत पहिरोले बगाएको छ ।
दाङको राजपुर गाउँपालिका–५ सालभौंरीस्थित गंगदी खोलामा बाढीले ट्र्याक्टर पल्टिँदा स्थानीय ५१ वर्षीय छेदुराम चौधरीको मृत्यु भएको छ । दाङ प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार ट्र्याक्टरमा सवार स्थानीय २४ वर्षीय राजकुमार चौधरी र २३ वर्षीय महेश यादव घाइते भएका छन् । राप्ती नदीको बाढीले बगाएर दुई जना बेपत्ता भएका छन् । राजपुर–२ का ३४ वर्षीय दयाराम यादव र ४८ वर्षीय तुलाराम यादव रुखमा चढेर बचेका थिए भने १८ वर्षीय राजकुमार यादव बेपत्ता भएका हुन् ।
यसैगरी राप्तीमा बगेर लमही–८ बगरापुरका ६२ वर्षीय मनियम चौधरी बेपत्ता भएका छन् । राप्तीको बहाव बढेर आसपासका गाउँ डुबानमा परेका छन् ।






