
लन्डन २० जुलाई २०२४ । क्यान्सर रोगको विरुद्ध जनचेतना जगाउने अभिप्रायले हरेक वर्ष आयोजना हुँदै आएको क्यान्सर रिसर्च सेन्टर युकेको सहयोगार्थ दौडमा ‘रेस फर लाइफ’मा तमु धीं युके आमा समूहले भाग लिएको छ ।
ग्रिल्डफोडस्थित स्टोक पार्कमा क्यान्सर रिसर्च सेन्टर युकेले शनिबार २० जुलाई २०२४ मा आयोजना गरेको ५ किमि दौडमा तमु धीं युकेकी आमा समूह अध्यक्ष सन्ध्या गुरुङको नेतृत्वमा पदाधिकारी तथा सदस्यहरुले भाग लिएका हुन् । च्यारिटी दौडमा तमुधिं युके आमा समूहका तर्फबाट २० जना दिदीबहिनीले सहभागिता जनाएको तमु धीं युकेका सल्लाहकार तथा संस्कृतिविद् एकेन्द्र गुरुङले जानकारी दिए । आमा समूहको नेतृत्वमा सहभागिता जनाएको च्यारिटी दौडमा तमु धीं युकेका अध्यक्ष हरि गुरुङ, वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष कमल गुरुङ, पूर्वअध्यक्षहरु ज्ञाम गुरुङ, हित काजी गुरुङ, महासचिव डा. विशाल गुरुङ, ट्रस्टिज, सल्लाहकार तथा संस्कृतिविद् एकेन्द्र गुरुङ, सचिव विमल गुरुङ, पूर्वकोषाध्यक्ष दीपक गुरुङ, लाल गुरुङ, लगायतले पनि साथ दिएका थिए ।
क्यान्सर रिसर्च सेन्टर युकेले आयोजना गर्दै आएको ‘रेस फर लाइफ’ सहभागी तमु धीं युके आमा समूह युकेले रेस फर लाईफलाई सहयोग स्वरूप १ हजार ९ सयको चेक हस्तान्तरण गरेको छ । शनिबारको दौडमा करिब १ हजार ५ सय धावक सहभागी भएका थिए । यो च्यारिटीबाट विश्वव्यापी २ सय थरीका क्यान्सरबाट पीडित महिला, पुरुष र बालबालिकाको उपचार तथा क्यान्सर उन्मूलनमा खर्च गर्ने गर्दछ । सन् १९९४ मा लन्डनबाट सुरु भएको ‘रेस फर लाइफ’मा केवल ७ सय ५० महिला सहभागी भएका थिए । तत्पश्चात् हरेक साल सहभागीको संख्या वृद्धि भएको र बेलायतभरिका विभिन्न सहरहरुमा विभिन्न समयमा सम्पन्न हुँदै आएको छ ।






