
लन्डन २१ जुलाई २०२४ । गुल्मी जिल्ला समाज युकेको आउँदो ४ अगस्ट २०२४ मा १६ औं वार्षिक भेला हुने भएको छ ।
लन्डन फेल्थामस्थित ट्युडोर पार्क स्पोर्ट्स एण्ड लिजरको मैदानमा वार्षिक भेला गर्ने तय भएको समाजले जनाएको छ ।
प्रथम नौमति बाजा गुल्मी यूके समूहको प्रस्तुतिका साथै विविध मौलिक गुल्मेली सांस्कृतिक कार्यक्रमहरु भेलाका थप आकर्षण रहने समाजका अध्यक्ष रुद्र थापाले जनाएका छन् ।
कार्यक्रम बिहान ११ देखि बेलुका ९ बजेसम्म सञ्चालन हुनेछ । त्यस अवसरमा प्रमुख अतिथिका रुपमा बेलायतका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनाल आउनेछिन् ।
भेलाकी संयोजक एवम् समाजकी उपाध्यक्ष मञ्जु भण्डारी खरेलले कार्यक्रमको तयारीका कामहरु भइरहेको बताइन् । उनका अनुसार कार्यक्रममा विश्वभर छरिएर रहेका गुल्मेलीहरुको भावनालाई प्रतिबिम्वित गर्ने पहिलो गुल्मेली स्वागत गीत पनि विमोचन गरिनेछ । कार्यक्रमस्थलमा विभिन्न व्यपारिक स्टहरु पनि राखिनेछ । त्यस्तै, बालबालिकाका लागि बाउन्सी क्यासलसहितका मनोरञ्जन पनि रहनेछन् ।
समाजका अध्यक्ष रुद्र थापाले गुल्मी जिल्ला समाजको आयोजना रहे पनि भेलामा बेलायतवासी सबै नेपालीलाई स्वागत गर्न आतुर रहेको बताएका छन् ।






