नयाँ दिल्ली १३ अगस्ट २०२४ । देशको संरक्षित राष्ट्रिय चरा मयूरलाई खाना पकाएर खाएको भिडियोले आक्रोश बढेपछि कोडम प्रणय कुमारलाई पक्राउ गरी हिरासतमा लिइएको प्रहरीले बताएको छ ।
उनले आफ्नो ‘करी डिस’ भिडियोका लागि जुन पक्षीलाई पकाएका थिए त्यो वास्तवमा मयूर थियो भन्ने ‘उनको मोबाइल फोनको अन्य भिडियोबाट पुष्टि’ भएपछि पक्राउ गरी जेल पठाइएको प्रहरीले बताएको छ । भारतमा रङ्गीन पक्षी मयूरहरू कडा वन्यजन्तु कानूनअन्तर्गत संरक्षित छन् ।
दक्षिणी राज्य तेलङ्गानाका प्रहरी उपरीक्षक अखिल महाजनले भने, “उनी अहिले वन्यजन्तु संरक्षण ऐनअन्तर्गत १४ दिनको हिरासतमा छन् र उनी जेलमा रहने वा जमानत पाउँछन् भन्ने अदालतले फैसला गर्नेछ ।” कुमारले भिडियोका लागि कसरी र कहाँबाट मयूर प्राप्त गर्न सफल भए भन्ने कुरा अनुसन्धानकर्ताहरूले पत्ता लगाउने प्रयास गरिरहेका छन् । उक्त भिडियो पछि हटाइएको थियो ।






