पोखरा । सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७५ बाट पत्रकार विजय नेपाल पुरस्कृत भएका छन् ।
सहारा क्लब पोखराद्वारा स्थापित सो पुरस्कार क्लबको २० आंै वार्षिकोत्सव तथा साधारणसभा अवसरमा शनिबार पोखरामा डेढ दशकदेखि पत्रकातारिमा क्रियाशील पत्रकार नेपाललाई अर्पण गरिएको हो । पोखरा महानगरपालिकाका उप–प्रमुख मन्जुदेवी गुरुङ, क्लबका पूर्वअध्यक्ष विक्रम थकाली, प्रतिभा छनोट समितिका संयोजक नारायण कार्की, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, क्लबका अध्यक्ष केशबबहादुर थापालगायतले पत्रकार नेपाललाई ताम्रपत्र, दोसल्ला, मायाको चिनोको साथमा फूलमाला तथा अबिर लगायर सम्मान गरेका हुन् । पुरस्कारको राशि १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।
पुरस्कृत पत्रकार नेपालले पुरस्कारले थप हौसला प्रदान गरेको बताउँदै राज्यले खेल क्षेत्रमा प्रशस्त लगानी गर्नुपर्ने बताए ।
नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका कोषाध्यक्षसमेत रहेका नेपाल पाल्पा पालुङ मैनादीमा जन्मिएका हुन् । पोखरालाई कर्मथलो बनाई २०६० सालबाट सञ्चार दर्पण पत्रिकाबाट पत्रकारिता सुरु गरेका नेपाल हाल राजधानी दैनिकको पोखरा सम्वाददाता र आदर्श समाज दैनिकका सहसम्पादक समेत हुन् ।
क्लबले उत्कृष्ट सदस्यबाट यसवर्ष कविता अधिकारीलाई सहारा उत्कृष्ट सदस्यको रुपमा सम्मान गरेको छ । पोखरा महानगरपालिकाका उपप्रमुख मन्जुदेवी गुरुङ, क्लबका संस्थापक अध्यक्ष बसन्त थकालीलगायतले सम्मानपत्रको साथमा दोसल्ला, पूmलमाला तथा अविर लगाएर सम्मान गरेका हुन् ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका उपप्रमुख मन्जुदेवी गुरुङले क्लबले खेलकुद र सामाजिक क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा क्लबले आयोजना गर्ने शिक्षा र खेलकुदका कुनै कार्यक्रममा महानगरपालिकाले हातेमालो गरेर जाने वचन दिइन् । संस्थापक अध्यक्ष बसन्त थकालीले पोखराको विकृति र विसंगतिको अन्त्य गर्न क्लबले थप टेवा पुर्याएको दाबी गरे ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर गुरुङले पोखरामा प्यारापिट सहितको फुटवल मैदानको निमार्ण कार्यले हाल अघि बढ्न नसक्दा साग गेम्स नै समयमै नहुने आशंका गरे ।






