काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको पाँचौं भ्रमणको तयारीमा जुटेको भारतीय सञ्चारमाध्यमले खुलासा गरेका छन् ।
हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारअनुसार मोदी सन् २०१८ को अन्त्यसम्ममा नेपाल भ्रमणका लागि इच्छुक देखिएका हुन् । भ्रमणको मिति निर्धारण हुन बाँकी रहे पनि तारतम्य मिलाउने काम भइरहेको उक्त अखबारले जनाएको छ ।
अखबारका अनुसार नोभेम्बर २८–२९ मा भ्रमण गर्ने या डिसेम्बर १२ मा गर्ने भन्ने प्रष्ट हुन सकेको छैन । उच्च कुटनीतिक स्रोतलाई उद्धृत गर्दै उक्त अखबारले डिसेम्बर १२ कै लागि भ्रमण उपयुक्त हुने भन्दै सोहीअनुसार तयारी भइरहेको जनाएको छ ।
भारतको मध्यप्रदेश, छत्तीसगढ, राजस्थान, मिजोरम र तेलंगानामा चुनावी माहोल बढिरहेको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणलाई किन महत्व दिइरहेका छन् ? यस विषयमा समेत सो अखबारले गहिराईमा पुगेर विश्लेषण गरेको छ । मोदीले भारतको चुनावमा ‘हिन्दू कार्ड’ प्रयोग गर्नका लागि नेपाल भ्रमणलाई रोजेको जनाइएको छ ।
डिसेम्बर १२ हिन्दु धर्मावलम्बीहरुका लागि खास दिन हो ।






